‘चिनियाँ नाकालाई निर्यात प्रवर्द्धनको रुपमा विकास गर्नुपर्छ’

राजेन्द्र मल्ल। फाइल फोटो।

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखीभन्दा पनि निर्यात प्रवर्द्धनको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले केरुङ र तातोपानी नाकालाई निर्यात प्रवर्द्धनको रुपमा विकास गर्न दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याब सरकारले राख्न आवश्यक रहेको बताए।

उनले दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याब सरकारले राख्नसाथ नेपालको निर्यात प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। उनले क्वारेन्टाइनको अभावका कारण सामानमा गुणस्तर नहुने भन्दै नेपाली सामान चीनले निर्यात गर्न नचाहेको बताए।

उनले दुई वटा नाकाबाट धेरै चिनियाँ पर्यटकहरु नेपाल आउने गरेको भन्दै नाका प्रयोग गरेर नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सहज बनाउन आवश्यक रहेको उल्लेख गरे। उनले नाकाहरुलाई पर्यटन आगमनको प्रवेश बिन्दुको रुपमा विकास गर्न आवश्यक रहेको बताए।

उनले चीनसँग नेपालको १ खर्ब ४५ अर्ब व्यापार घाटामा रहेको भन्दै पर्यटन प्रवर्द्धन र नेपाली जडिबुटीको निर्यात गर्न सके मात्रै पनि चीनसँगको व्यापार घाटा कम गर्न सकिने दाबी गरे। उनले चीनसँग नेपालले अर्बमा गरिरहेको निर्यात खर्बमा पुर्‍याउन सरकारले समयमा ऐन नियमहरु बनाएर जानुपर्नेमा जोड दिए। उनले केरुङ र तातोपानी नाका जोड्ने सडक मार्गलाई ४ लेन बनाउन आवश्यक रहेको बताए।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्