‘लगानी आकर्षण गर्न सरकारले नीतिगत स्थिरता कायम राख्नुपर्छ’

काठमाडौँ – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आन्तरिक तथा वैदेशिक लगानी आकर्षण गर्नको लागि सरकारले नीतिगत स्थिरता कायम गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष अग्रवालले मुलुकभित्र वैदेशिक वा आन्तरिक लगानी विस्तारको लागि नीतिगत स्थिरता अनिर्वाय सर्त भएको बताए।

उनले सरकारका नीति तथा कानूनहरु लगानीलाई निरुत्साहनभन्दा पनि प्रोसाहन गर्ने खालका हुनुपर्नेमा जोड दिए। उनले सरकारले लगानीको वातावरण बनाउन नीतिगत एंव व्यवहारिक रुपमा कानूनहरु सुधार गर्न आवश्यक देखिएको उल्लेख गरे। उनले भारतसँगको सीमानाकाहरुमा अवैध पैठारी बढेको भन्दै नियन्त्रण गर्न सरकार कठोर बन्न आवश्यक रहेको बताए।

उनले अवैध कारोबारका कारण सरकारले राजश्व पनि गुमाइरहेको उल्लेख गरे। अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार भए पनि आन्तरिक क्षेत्रमा सुधार आउन नसकेको दाबी गरे।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लिएको खुकुलो नीतिको कारण अर्थतन्त्रका केही क्षेत्र सामान्य चलायमान हुन खाजे पनि अर्थतन्त्र पूर्णरुपमा चलायमान हुन नसकेको जिकिर अध्यक्ष अग्रवालको छ।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्