हुम्लाको रैथाने बाली कोदो टिप्दै किसान। तस्बिरः फाईल फोटो

सिमकोट – हुम्ला जिल्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको अन्नको मूल्य निर्धारण गरिएको छ। रैथाने बालीको अन्न जिल्लाबाहिर सहरी क्षेत्रमा निर्यात हुने क्रम बढ्न थाल्नु र हवाई ढुवानीको लागि भाडा दरमा मूल्य वृद्धि भएपछि जिल्ला प्राथमिक खरिद समितिको बैठकले रैथाने बालीको मूल्य निर्धारण गरेको हो।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार चार प्रकारका स्थानीय रैथाने बालीको मूल्य वृद्धि गर्ने र दुई वटा बालीको मूल्य निर्धारण गर्ने निर्णय समितिले गरेको छ।

उनले रैथाने बालीलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेर काठमाडौं लग्ने र ब्यक्तिगत रुपमा पनि व्यवसायीले लिन थाल्नु र हवाई मार्गबाट ढुवानी हुने भएका कारण त्यसको मुख्य वृद्धि गरिएको बताए।

यो मूल्य वृद्धि भएको रुपैयाँ लिमिटेडले जिल्लाका तीन वटा गाउँपालिका सिमकोट, सर्केगार्ड र अदानचुलीमार्फत किसानलाई तिर्नेछ।
लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नवीन आचार्यले हुम्ला स्थानीय रैथाने उत्पादन सिमीमा प्रतिकेजी दश रुपैयाँ बृद्धि गरेर प्रतिकेजी दुई सय रुपैयाँ पुगेको छ भने चिनोमा पाँच रुपैयाँ वृद्धि गरेर प्रतिकेजी १७५ रुपैयाँ, कागुनोमा पाँच रुपैयाँ वृद्धि गरेर प्रतिकेजी १७५ रुपैयाँ र फापरमा प्रतिकेजी पाँच रुपैयाँ वृद्धि गरेर ९५ रुपैयाँ पुर् याइएकोे बताए।

अघिल्लो वर्ष सिमी प्रतिकेजी एक सय पचास, चिनो प्रतिकेजी १७० रुपैयाँ, कागुनो प्रतिकेजी १६५ रुपैयाँ र फापर प्रतिकेजी नब्बे रुपैयाँ रहेको थियो।
त्यसैगरी समितिले यस वर्ष नयाँ निकासी हुन लागेको कोदो र उवाको पनि मूल्य निर्धारण गरेको छ। जसमा समितिले कोदो प्रतिकेजी नब्बे रुपैयाँ र उवा प्रतिकेजी १२० रुपैयाँ मूल्य तोकिएको छ।

समितिले पछिल्लो मूल्य निर्धारण गरेपछि किसानलाई सहज भएको छ। गत वर्षबाट हुम्ला जिल्लामा उत्पादित रैथाने बालीको अन्न जिल्लाबाहिर निकासी हुन थालेको थियो। जसमा ७३ क्विन्टल अन्न लिमिटेडले काठमाडौँ लगेको थियो। यसरी जिल्लाबाट रैथाने बालीको अन्न खरिद गरेर लैजानुको मुख्य उद्देश्य यी बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि हो।

लिमिटेडको यो कार्यले एकातिर किसानलाई आर्थिक रुपमा फाइदा पुग्नेछ भने अर्को तफै रैथाने बालीको उत्पादनमा बृद्धि समेत हुने बिस्वास गरिएको छ।
यसका लागि सिमकोट गाउँपालिकाले सहजिकरणको भूमिका निर्वाह गर्दै केही रकम किसानलाई अनुदानको समेत ब्यवस्था गरेको छ। यो कार्यक्रम गत वर्षबाट लागू भएको छ र किसानले यस वर्ष यी बालीको उत्पादनसमेत वृद्धि गरेको जनाएका छन्।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्