भ्रष्ट शासन र शासकबाट मुक्त गराउन जनआन्दोलन आवश्यकः कमल थापा

जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट शासन र शासकबाट मुक्त गराउनका लागि जनआन्दोलको रुपमा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

अहिलेको भ्रष्ट व्यस्था र भ्रष्ट शासनबाट मुक्ति चाहने, हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना चाहने, सुशासन चाहने सबै राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी, हिन्दुवादी एक ठाउँमा मिलेर बृहत् मोर्चा निर्माण गरेर आन्दोलनमा जानुपर्ने बताए।

जनकपुरधाममा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष थापाले भ्रष्ट शासनबाट मुक्तिका लागि सबै दल एक भएर जनआन्दोलनको रुपमा जानुपर्ने बताए।

उनले बृहत् मोर्चा निर्माणका लागि समान विचारधारा राख्ने दलसँग वार्ता गरिरहेको र जनताको चाहनाअनुसार वृहत मोर्चा निर्माण हुने बताए।
अध्यक्ष थापाले नेपालको अर्थतन्त्र एकदमै कमजोर हुँदै गएकाले फजुल खर्च गर्नुपर्ने भन्दै भने, ‘यसका निम्ती सबैभन्दा पहिले प्रदेश स्तरको संरचना खारिज गर्नुपर्छ। करिब ८ वर्षदेखि संघीय संरचनाको हामी अभ्यास गरिरहेका छौँ। र, यो ८ वर्षको अनुभवले प्रदेश संरचनाको कुनै उपयोगिता छैन भन्ने प्रमाणित भयो।’

अध्यक्ष थापाले प्रदेश स्तरीय संरचनाले भ्रष्टाचार, राजनीतिक अस्थिरता बढेकाले प्रदेश स्तरको संरचना खारेजका लागि सरकारले चाँडो भन्दा चाँडो पहल गर्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो जस्तो देशमा विकास निर्माणको परिपुर्ति गर्नुपर्नेमा, अथवा शोसनबाट मुक्ति हुनुपर्छभन्नेमा सहमत छु। तर हाम्रो जस्तो देशमा सय भन्दा बढी मन्त्री किन चाहिन्छ ? एक हजारभन्दा बढी सांसद किन चाहिन्छ ? ३७ हजार अहिले तलबी जनप्रतिनिधि छ। यसले कहिलेसम्म धान्न सक्छ ?’

अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसकेकाले यसको विकल्प राजासहितको प्रजातन्त्र, सर्वधर्म सदभावसहितको हिन्दुसनातन राष्ट्र हुनुपर्ने भन्दै यसका लागि पहिलो प्रयास सहमति र समझदारी हुने बताए।

उनले अहिलेकै संविधानबाट हिन्दुराष्ट्र र राजसंस्था स्थापना हुन सक्ने बताए। उनले अहिलेको परिस्थितिमा प्रमुख राजनीतिक दल सामान्य सुधार गर्नसमेत तयार नरहेको बताए।

 

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्