विराटनगरलाई सुन्दर बनाउन महानगर मात्रै लागेर पुग्दैनः मेयर कोइराला

मोरङ – विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरलाई सफा, सुन्दर र हराभरा बनाउन सर्वसाधारणले इमान्दारीपूर्वक प्रण गर्नुपर्ने बताएका छन्।

महानगर सरसफाई साप्ताहिक अभियानका क्रममा शनिबार आयोजित कार्यक्रममा मेयर कोइरालाले नगर सफा राख्न महानगरसँगै सर्वसाधारणले समेत आफ्नो स्थानबाट चासो राख्नुपर्ने बताए।

एकदिन सफाइ गर्ने र अर्कोदिन फोहर गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म महानगरलाई सफा, सुन्दर, हराभरा र व्यवस्थित गर्न सकिनेमा जोड दिए।

उनले भने, ‘हरेक नागरिकले आफ्नो घरअगाडि सफा राख्ने र दुई वटा गमलामा फूल र बिरुवा रोपिदिने हो भने विराटनगर साँच्चीकै सफा, सुन्दर र हराभरा हुनेछ। यहाँको सडक, चोकको सफाइमा महानगरसँगै सर्वसाधारणको समेत चासो आवश्यक छ। हरेक दिन सफाइ गर्दै जादाँ महानगरलाई हामीले सोचे र भने झैं सफा बनाउन सकिन्छ।’

महानगरको पश्चिमतर्फको सुनसरी–मोरङ सिंचाइ नहरको फोहरलाई महानगरले एकदिन सफा गरेर सम्भव नहुने उनले बताए। उनले भने, ‘महानगरले एकदिन आएर नहर सफा गरिदेला तर सधैँ आएर सफा गर्न त सक्दैन। महानगरले हेर्नुपर्ने क्षेत्र धेरै छ। स्थानीयवासीले समेत नहरमा फोहोर नफ्याँक्ने र कसैले फोहोर फ्यालेमा त्यसलाई कारबाहीको दायरामा ल्याउने र सामाजिक बहिष्कारसमेत गरेमा कसैले पनि फोहोर फ्याँक्ने आँट गर्दैन।’

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्