राष्ट्रिय सडक सञ्जालसँग जोडियो गोठी गाउँ

सिमकोट – सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँका स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना यतिबेला पूरा भएपछि बाजागाजासहित खुसीयाली मनाएका हुन्।

उक्त गाउँका स्थानीय जैमल शाहीले वर्षौंदेखिको घरआँगनमा सडक सञ्जाल जोडिएको हेर्ने चाहना पूरा भएको भन्दैै यसबाट हरेक कुरामा सहज हुने बताए।

गाउँका ज्येष्ठ नागरिकलाई यसरी सडक सञ्जाल चाँडै जोडिएला भन्ने नसोचेकै बेला सडक निर्माण भई एकसाथ ६ वटा बोलेरो जीप गाउँमा आइपुगेपछि अचम्भित मात्र नभएर खुसीसमेत देखिएका थिए।

अब गोठी गाउँमा गाडी मात्र पुगेको छैन राष्ट्रिय सडक सञ्जालसँग समेत जोडिएको छ। गाउँमा ताँती लागेर आएका यात्रुले भरिएका बोलेरो जीपलाई बाजागाजा बजाएर चालक तथा यात्रुलाई अबिर, फूलमाला र अक्षता लगाउने कार्य गरिएको थियो। दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबै खाले यात्रुलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुनेछ।

यसअघि नै प्रतिनिधि सभामा दुई÷दुई जना सांसद बनाउन सफल भएको गोठी गाउँमा हालसम्म सडक सञ्जाल नजोडिएकोमा आलोचना हुने गरेको थियो।

सर्केगार्ड, गोठी, रोडिकोट, फुचा, राहदेब, पंङ्खा हुँदै मारघोरसम्मको सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले चार करोड ४९ लाख बजेटको व्यवस्था गरेको थियो। अघल्लिो आर्थिक वर्षबाट सो सडकको निर्माण सुरु भए पनि बिष्फोटक पदार्थ व्यवस्था गर्न निर्माण कम्पनीलाई समस्या भएको कारण हाल आएर सडक निर्माण पूरा भएको हो।

निर्माण कम्पनी सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि लंकबहादुर शाहीले चार÷पाँच स्थानमा कडा चट्टानी भीरमा बिष्फोट गराउने कार्य पूरा भए पनि साढे चार किमि सडक निर्माण पूरा भएपछि गोठी गाउँमा सडक सञ्जाल जोड्न सकिएको बताए। उक्त सडक पाँचदेखि दश मिटर चौडाइ छ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्