सत्रौँ त्रिमूर्ति दिवसका अवसरमा तीन जनालाई ‘त्रिमूर्ति पुरस्कार’

काठमाडौं- त्रिमूर्ति निकेतनले सत्रौँ त्रिमूर्ति दिवस नाट्यसम्राट बालकृष्ण समको १२२ औँ जयन्तीका अवसर पारेर मनाएको छ।

सो अवसरमा तीन जनालाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान समेत गरेको हो ।

त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.महादेव अवस्थीले प्रा.मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डेलाई पुरस्कार प्रदान गरेका हुन् ।

छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदानका निम्ति प्रा.मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’प्रदान गरिएको हो ।

यसैगरी, नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन विशिष्ट योगदानका निम्ति हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरियो ।

त्यैगरी, विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको संवर्द्धन एवम् महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापतजयप्रसाद पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको त्रिमूर्ति निकेतनले जनाएको छ।

निकेतनका अनुसार ताम्रपत्रका साथै यी तीनै पुरस्कारको राशि जनही एक लाख रूपैयाँ रहेको छ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्