ट्रकले स्कूटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु

मोरङ- विराटनगरमा भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

आइतबार बिहान विराटनगरको बरगाछी चौक नजिक बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कूटरलाई ठक्कर दिँदा २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा स्कूटर चालक सुनसरी दुहबी नगरपालिका- ९ का चौधरी गंभीर घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

सवारी दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजानी गरेका छन् । आगजनीको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

आगजनीका कारण ट्रकको अघिल्लो भागमा क्षतिपुगे पनि वारुणयन्त्रको सहायतामा आगो नियन्त्रणमा आएको थियो । दुर्घटना र आगजनीपछि केहीबेर सो सडकखण्ड अवरुद्ध बनेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार हाल अवरुद्ध गरिएको सडक सुरक्षाकर्मीको साथमा सुचारु भएको छ ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्