अफताब आलमविरुद्धको मुद्दामा अन्तिम सुनाइ आज

फाइल तस्बिर।

वीरगञ्ज- पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा अन्तिम फैसलाको लागि आइतबार पेसी ताेकिएकाे छ।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी ताेकिएकाे हाे। आलमविरुद्धको मुद्दाको पेसी क्रमसंख्याअनुसार चौथो नम्बरमा रहेको छ।

यसअघि यो मुद्दा पटकपटक पेशी सर्दै आएको छ।

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेकोसम्बन्धी अभियाेग लागेकाे हाे। यसअघि पटकपटक पेसी तोकिए पनि मुद्दाकाे सुनुवाइ भने भएकाे थिएन।

जिल्ला अदालत, रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत, वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि बम बनाउनेहरू ल्याई बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ।

मुद्दामा आलमसहित ११ जनालाई प्रतिवादी बनाइएको छ। जसमा शेख सरोज भनिने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहमद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहम्मद मोबिन आलम, शेख जुमइन भन्ने शेख मलकार प्रतिवादी छन्।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्