आज घोषणा हुँदै पल्सर स्पोर्ट्स अवार्ड, को-को छन् दाबेदार?

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड आइतबार एक भव्य समारोहबीच घोषणा हुँदैछ। मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको यो अवार्डमा खेलाडीले २०७९ मा गरेको प्रदर्शनका आधारमा विभिन्न विधामा मनोनयन गरेको छ।

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर अवार्ड विजेताको घोषणा गर्न लागेको जनाएको छ। यस वर्ष उत्कृष्ट वर्ष खेलाडी पुरुषमा क्रिकेटका आशिफ शेख र रोहित कुमार पौडल तथा एथ्लेटिक्सका दीपक अधिकारी रहँदा महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथ्लेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाई रहेका छन्।

युवा खेलाडीको शीर्ष तीनको मनोनयनमा क्रिकेटका देव खनाल, एथ्लेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ रहँदा वर्ष प्रशिक्षकमा एथ्लेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा मनोनयनमा रहेका छन्।

अवार्डको मुख्य विधाको रूपमा रहेको पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, कराँतेका विप्लपलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल र शारीरिक सुगठनकी रजनी श्रेष्ठ प्रतिस्पर्धामा छन्।

वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाईस अवार्ड विजेताले बजाज पल्सरको मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्