सिमकोट गाउँपालिकाद्वारा जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले फागुन १ गते सार्वजिक बिदा दिने भएको छ। आइतबार कावा अध्यक्ष नन्द रावतले एक पत्रमार्फत फागुन १ गते मंगलवार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ।

पत्रका अनुसार सो दिन गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने कार्य बन्द गरिनेछ भने गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरिनेछ। जबकि सो विद्यालय बन्द गर्नै पर्दैन। फागुन १ गतेसम्म हुम्लाका विद्यालय मिन पचासको बिदामै रहेका छन्।

सर्वोच्च अदालतले पुस १३ गते जनयुद्ध दिवसमा बिदा नदिने आदेश दिएको थियो। सर्वोच्चको आदेशविपरीत सिमकोट गाउँपालिकाको कार्यालय र विद्यालयमा सार्वजनिक बिदा दिइने पत्र प्रकाशन भएको छ।

पत्रमा बिदा दिने निर्णय भएको भनिए पनि कार्यपालिकाको बैठक नै नबसेको सदस्यहरूले जनाएका छन्।

सिमकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जिल्ला बाहिर रहेका छन्। सोह्र सदस्यीय कार्यपालिकामा उपाध्यक्ष समिति आठ जना कांग्रेसका छन् भने अध्यक्षसहित सात जना माओवादी केन्द्र र एक जना वडा अध्यक्ष नेकपा एमालेका छन्।

सर्वोच्च अदालतले पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।

यसअघि रोल्पाको माडी गाउँपालिकाले बिदा गर्ने निर्णय गरेको थियो। त्यसैगरी कालिकोट जिल्लाको पलाँता र रास्कोट गाउँपालिकाले पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छन्।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्