आलमविरुद्ध जाहेरी दिनेको फरेन्सिक रिपोर्ट ल्याउन आदेश

फाइल फोटो

वीरगञ्ज – पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा अन्तिम फैसलाको लागि जाहेरवालाको शारीरिक परीक्षण प्रतिवेदन ल्याउन जिल्ला अदालत रौतहटले आदेश दिएको छ। आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उक्त आदेश दिएको हो।

जाहेरवाला गौरीशंकर रामको फरेन्सिक ल्याब रिपोर्ट ल्याउन र घटनास्थल मुचुल्कासहित घटना विवरणमा सही गर्नेलाई बकपत्रको लागि अदालतमा उपस्थित गराउने आदेश भएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए।

अब अर्को पेशीमा बकपत्र र फरेन्सिक ल्याब रिपोर्ट आएपछि मुद्दाको फैसला हुने उनले बताए। ‘जाहेरवालाको शारीरिक परीक्षण प्रतिवेदन ल्याउन र घटना विवरणमा सही गर्नेहरुलाई बकपत्रको लागि आदेश भएको हो,’ उनले भने।

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको हो।

जिल्ला अदालत, रौतहटले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्यूँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ।

मुद्दामा आलमसहित ११ जनालाई प्रतिवादी बनाइएको छ। शेख सरोज भनिने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहमद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहम्मद मोबिन आलम, शेख जुमइन भन्ने शेख मलकार प्रतिवादी छन्।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्