पोखरामा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा एकजना पक्राउ

पोखरा – कास्कीका विभिन्न स्थानमा शिलशिलेबार चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१४ का २१ वर्षीय दिपेश परियार चोरीकोे आरोपमा पक्राउ परेका हुन्।

दीपेशले माघ महिनामा मात्रै लेकसाइडका ६ वटा रेष्टुरेन्टमा चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। डिएसी विकका अनुसार दिपेशले नगद मात्रै नभएर मदिरा र चुरोट चोरी गरेका थिए।

एकै दिन ३ स्थानमा चोरी गर्न दिपेशले भ्याएका छन्। प्रहरीले पक्राउ गरेपछि चोरी स्विकार गरेको डिएसपी विकले बताए।

माघ १३ गते पोखराको जिरो किलोमिटरमा रहेको कफी बक्स क्याफेबाट १५ हजार रुपैयाँ नगदसहित ८९ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए। त्यही रात उनले लेकसाइडको सेन्टरप्वाइन्टको रेस्ट्रो लञ्ज एन्ड बारबाट ३५ हजार रुपैयाँ नगदसहित चोरे।

माघ १ गते लेकसाइकै सोल ओरिजिन क्याफेबाट १० हजार रुपैयाँ नगदसहित ८७ हजार रुपैयाँ बराबरको सामान चोरेको प्रहरीले जानकारी दिएको छ।

उनको चोरीको श्रृंखला त्यतिमा मात्रै रोकिएन। माघ १६ गते लेकसाइडमै रहेको एलिज क्याफेमा २ हजार नदगसहित १२ हजार रुपैयाँ बराबरको सामान चोरी गरे। त्यो दिन उनले लेकसाइडकै फुटट्रयाकमा रहेको स्वप्निल दरबार खाजाघरबाट २ हजार रुपैयाँसहित २७ हजार बराबरको मदिरा चोरी गरेको आरोप लागेको छ।

उनले सोही दिन लेकसाइडको टोनिक लन्ज एन्ड बारबाट १३ हजार नगदसहित १९ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्