कोसी प्रदेशका मन्त्री गुपचुप अनुगमनमा, ट्राफिक प्रहरीद्वारा प्रदेश मन्त्रीमाथि नै ठेलमठेल

मोरङ – मोरङको सुन्दरहरैचा नगरपालिकाको दुलारीस्थित सवारी ट्रायल सेन्टरमा सामान्य पहिरनमा पुगेका एक प्रदेश मन्त्रीले प्रहरीको हप्की खानुपरेको छ।

यातायात कार्यालयमा विचौलियाको प्रवेशलाई रोक लगाएको यातायात व्यवस्था कार्यालय इटहरीको भनाइसँगै कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राई सामान्य पहिरनमा आइतबार ट्रायल सेन्टरमा पुगेका थिए।

मन्त्री राई ट्रायल सेन्टरको अनुगमनका क्रममा कालो हाफ ज्याकेट, कालो चस्मा र मास्क लगाएर यातायातका कर्मचारी तथा ट्राफिक बस्ने छेउमै गएर उभिएका थिए।

यातायात कार्यालयमा हुने खराबीको गुनासो बढ्दै गर्दा मन्त्री राई ट्रायल सेन्टर पुगेका थिए। यसक्रममा मन्त्री राईको निजी सचिवालयका कर्मचारीले समेत सरकारी पोसाक नलगाएर सामान्य पहिरनमा खटिएका थिए।

सामान्य सवारीमा सेन्टरमा पुगेर ट्रायल हेर्दै गरेका मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न भनेका थिए। तर उनले अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन प्रयास गरेका थिए। केहीबेर हेराहेर भएपछि मन्त्री राईले अनुहारमा लगाएको मास्क खोलेका थिए।

त्यसलगत्तै वरिपरि रहेका यातायातका कर्मचारीहरूले मन्त्री राई चिनेर कुर्सीमा राखेका थिए। प्रहरीको ठेलठालसँगै मन्त्री राईले सेवाग्राहीलाई प्रहरीले ज्यादतीसम्म गर्छन् कि भन्ने आशंका बढेको बताए।

उनले भने, ‘सामान्य नागरिक भएर जादाँ समेत प्रहरी गलत हर्कत गरे। यसबाट सोझा साझा सेवाग्राहीले सहजै सेवा पाउछन् भन्ने प्रश्न चिन्ह खडा भएको छ।’ उनले नागरिकलाई सहज रुपमा काम गर्ने वातावरण नभएपछि गुपचुप अनुगमन गरिएको बताए।

उनले भने, ‘यस्तै रवैया अन्य कार्यालयमा पनि हुने गरेको गुनासो छ, हामी फरक ढंगबाट जनतालाई सहज हुने गरि काम गर्नेछौ।’

ट्रायल परिक्षामा पास फेल भएको मुद्दा सोही स्थानमा हुनुपर्ने तर कर्मचारीले सोही समय काम नगर्ने गरेको भेटिएको मन्त्री राईले बताए। अर्कोतर्फ, यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईंले यातायात कार्यालयमा बिचौलिया प्रवेश गर्ने नदिएको दाबी गरे। ट्रायल स्थानमा परीक्षा दिनेको भीडमा भीड हुने गरेकाले फेल पासको उति नै बेला नलेख्ने गरेको प्रसाईंको भनाइ छ।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्