मुख्यमन्त्री कार्कीले राजनीतिक बेइमानी गरेको एमालेको आरोप

मोरङ – कोशी प्रदेश सरकारले सत्तापक्षका सांसदहरुलाई लाभ हुने गरी अध्यादेश ल्याएको भन्दै नेकपा एमाले कोशी प्रदेश कमिटीले आपत्ति जनाएको छ।

आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मलेनमा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले प्रदेश सरकारले कानुन बगार्न उद्धत रहँदै सांसदहरुलाई लाभ हुने गरी अध्यादेश ल्याएको आरोप लगाए।

अध्यक्ष खतिवडाले मुख्यमन्त्री केदार कार्कीले प्रदेशस्तरीय जिल्ला अस्पतालमा जिल्ला समन्वय समिति प्रमुख अध्यक्ष रहने कानुनलाई तोडमोड गरेको गुनासो गरे। उनले अस्पतालमा अध्यक्ष रहने कानूनलाई मुख्यमन्त्रीले हटाएर आफू मातहत पुर्‍याएको बताए।

मन्त्रीमण्डल विस्तार गरेको सन्दर्भलाई लिएर अध्यक्ष खतिवडाले मुख्यमन्त्री कार्कीले राजनीतिक बेइमानी गरिरहेको आरोप लगाए। मुख्यमन्त्रीले पूरक बजेट भन्दै जथाभावी संशोधन गरेको हुँदा यसप्रकारको मुख्यमन्त्रीको गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउने उनले बताए।

नेकपा एमालेको सहयोगमा सरकार बनेको बताउँदै उनले लोकतन्त्रलाई मास्ने गरी गरिएका काम कारबाहीविरुद्ध भण्डाफोर अभियान सुरु हुनसक्ने जानकारी दिए।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्