‘विराटनगर महानगरको दक्षिणी क्षेत्र विकास निर्माणमा प्राथमिकता’

मोरङ – विराटनगर महानगर प्रमुख नागेश कोइरालाले महानगरको दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्दै आएको बताएका छन्।

आइतबार विराटनगरको रानीमा आयोजित सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले महानगरको रोडशेष चौक दक्षिण क्षेत्रका वडामा बहुवर्षीय योजनाअन्तर्गत ठूला योजना सञ्चालनमा रहेको बताए।

सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले विराटनगर १८ मा रहेको ऐतिहासिक मण्टा पोखरी ६, रानीपोखरीमा ५ करोड, विराट राजाको दरबारमा ८० लाख, विराट आँखा अस्पताल सडकमा ३ करोड ६० लाखको ठूलो योजना अघि बढिरहेको बताए।

विकास निर्माणमा महानगरको दक्षिण क्षेत्रलाई पछि पारिएको स्थानीयको गुनासोसँगै उनले महानगरको दक्षिण क्षेत्र सधै प्राथमिकतामा परेको प्रस्ट्याए। उनले गरिएको कामको नतिजा आउन समय लाग्नेमा जोड दिए।

दक्षिण क्षेत्रको वडा नम्बर १२, १३, १५, १६ मा प्रत्येक वर्ष डुबानको समस्या रहेको स्थानीयले गुनासो गरिरहदाँ डुबानको दीर्घकालीन समाधानका लागि संघीय सरकार मातहतमा रहेको सिक्स लेन सडक कार्यालयलाई पत्राचार गरिएको बताए।

कार्यक्रममा मेयर कोइरालाले आउँदोवर्षमा महानगरलाई मोतियाविन्दुमुक्त बनाउन अभियानमा काम भइरहेको बताए।

विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा महानगरका १९ वटामा निःशुल्क आँखा शिविर राखिएको उनले बताए।

उनले भने, ‘हामी भौतिक संरचनाको विकाससंगै मानवीय विकासमा पनि कार्य गरिरहेका छाँै। चाडै महानगरलाई मोतियाविन्दुमुक्त बनाउनेमा केन्द्रित छौ। वडाहरुमा आँखा शिविर राखिदै आइएको छ। शिविरमा मोतियाविन्दू भएका विरामीको निःशुल्क शल्यक्रियासमेत गरिनेछ।’

जनताको अपेक्षा अनुसार काम गर्न नपाएको बताउँदै मेयर कोइरालाले महानगरको बजेटले धेरै कामलाई द्रुतता दिन गाह्रो भएको बताए। चालु वर्ष ८७ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेको बताएका मेयर कोइरालाले माघ २८ गतेसम्म २७ करोड ५६ लाख ५० हजार राजस्व संकलन भएको बताए।

गत आर्थिक वर्ष ६४ करोड ५ लाख राजस्व संकलन भएकामा यस वर्ष आर्थिकमन्दीका कारण राजस्वको लक्ष्य पूरा हुने अवस्था क्षीण हुँदै गएको प्रस्टाए। कार्यक्रममा मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन सबैलाई आग्रहसमेत गरेका थिए।

त्यसैगरि, कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने वडा तहमा अध्यक्षसहितको टोलीले अनुगमन गर्न सक्ने प्रक्रिया अघि बढाइरहेको जानकारी दिइन्।

कार्यक्रममा वडा नम्बर १३ का स्थानीय रामप्रसाद दुलालले पछिल्लोसमय महानगरले दक्षिण क्षेत्रमा समेत लगानी गर्न थालेकोमा प्रसंशा गरे। सोही वडाका नेकपा माओवादी केन्द्रका इन्चार्ज महेन्द्रप्रसाद मण्डलले दक्षिण क्षेत्रका भित्री सडकलाई कालोपत्रे गर्न माग गरे।

कार्यक्रममा जनता समाजवादी पार्टी महानगर सहसचिव विकास मण्डलले नगर बस सञ्चालन प्रक्रियालाई अन्तिम रुप दिनुपर्नेमा जोड दिए। उनले अशक्तका लागि निःशुल्क स्वास्थ्य उपचारको पाटो निर्माण गर्न महानगरसमक्ष माग गरे।

महानगर १६ रानीका अनिल सुब्बा महानगरको दक्षिण भेगमा समेत सार्वजनिक शौचालयको अभाव रहेको गुनासो गरेका थिए। वडा नम्बर १६ का अध्यक्ष उद्धवकुमार भुजेलले आफ्नो वडामा सिँचाइको काम भइरहेको बताए।

माघ २८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्