सार्की र साहको शतकमा नेपाल द्वारा क्यानडा विरुद्धको सिरिज क्लिन स्विप

काठमाडौं- नेपालले क्यानडा विरुद्धको तीन खेलको एकदिवसीय सिरिज ३-० ले क्लिन स्विप गरेको छ। सोमबार भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले ९ विकेटको जित निकाल्यो। नेपालका लागि अनिल साहा र भिम सार्कीले अविजित शतकीय इनिङ खेल्दा क्यानडा विरुद्ध ४४.३ ओभरमै १ विकेट गुमाएर जित हात पार्‍यो।

नेपालको जितमा ओपनर अनिल साह र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका भिम सार्कीले तेस्रो विकेटका लागि १ सय ८९ रनको सानदार अविजित  साझेदारी गरेका थिए। जितसँगै नेपालले  क्यानडा विरुद्धको सिरिजलाई पूर्ण रुपमा हावी हुँदै अन्त गर्न सफल भयो।  तेस्रो खेलमा साह र सार्की बाहेक ओपनर कुशल भुर्तेलले १६ रन बनाए।

साहाले १ सय १२ रन बनाउँदै अविजित रहने क्रममा १ सय २४ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै सार्कीले १ सय २९ बल खेल्दै ११ चौका र  १ छक्काको सहयोगमा १ सय १ रनमा अविजित रहे। दुबै खेलाडीको यो एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक हो। साथै यि दुइबिच भएको १ सय ८९ रनको अविजित साझेदारी नेपालका लागि सर्वाधिक उच्च साझेदारी समेत हो। यसअघि कुशल भुर्तेल र आसिफ शेखले जिम्बाब्वे विरुद्ध १ सय ७१ रनको साझेदारी नेपालका लागि उच्च साझेदारीका रुपमा रहेको थियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो।उसका लागि नभनित धलिवालले ५० रन बनाउँदा हर्स थकरले २२ रन बनाए। त्यस्तै निखिल दतले ४५ रन बनाउँदा श्रेयस मोभले २५ रन र कप्तान साद बिन जफरले ३१ रनको अविजित इनिङ खेलेका थिए। नेपालका लागि डेब्यु गरेका हेमन्त धामीले ३ विकेट लिदा कुशल मल्लले २ तथा ललित राजवंशी आकाश चन्दको नाममा समान १-१ विकेट रह्यो।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्