गणतन्त्रवादी र परिवर्तनकारीलाई चित बुझ्ने राजसंस्थाको परिकल्पना गरेका छाैँः कमल थापा

वीरगञ्ज – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको राजसंस्था भनेको गणतन्त्रादी, परिवर्तनकारीहरूलाई पनि चित बुझ्ने राजसंस्थाको परिकल्पना पार्टीले गरेको बताएका छन्।

वीरगञ्जमा जारी पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले संसद् र संविधानको परिधि र नियन्त्रणमा रहने नैतिक शक्ति भएको अभिभावकको रूपमा सहमति र सम्झौताको राजसंस्थाको परिकल्पना आफूहरूले गरेको थापाले जानकारी दिए।

‘विगतको जस्तो राजसंस्था हामीले परिकल्पना गरेका छैनौँ, ०६३ सालभन्दा अघिको राजसंस्था पुनःस्थापना हुने सम्भावना पनि हामी देख्दैनाँै, ‘उनले भने, अहिलेको राजसंस्था भनेको गणतन्त्रादी पनि चित बुझ्ने, परिवर्तनकारीलाई पनि चित बुझ्ने सहमति र सम्झौताको राजसंस्था हुन्छ।’

राजसंस्थाको कुरा गरेर स्थापना गरी लोकतन्त्र वा प्रजातन्त्र समाप्त पार्ने प्रयास गरेको भनी आफ्नो पार्टीमाथि लगाइने आरोपमाथि सत्यता नभएको थापाको भनाइ थियो।

प्रजातन्त्रको सवालमा अन्य दलभन्दा आफ्नो दल एक इन्च पनि कम नभएको उनको दाबी थियो। अहिले मिटर ब्याज, लघुवित्त तथा बैंकको ब्याजका कारण लाखौँ नेपाली जनता समस्यामा भएकाले बढीभन्दा बढी पीडित ऋणीहरूको ऋण मिनाहा गर्नुपर्ने माग थापाले सरकारसित गरेका थिए।

१० हजारभन्दा कम लिने जनसंख्या पनि लाखौँ रहेकाले एक पटकका लागि उनीहरूको ऋण मिनाहा गर्नुका साथै मिटरब्याजलाई सदाका लागि अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

लामो समयसम्म राप्रपामा रहँदा पार्टी अध्यक्षलाई आफ्नो गुनासो सम्बोधनका लागि पटक–पटक भन्दा पनि रद्दीको टोकरीमा फालिएपछि आफू विरक्तिएर अर्को पार्टी खोलेको पनि जानकारी थापाले दिएका थिए।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्