बाजुरामा चामल किन्नेको भीड थाम्न नसकेपछि चामलको गोदाममा ताला

धनगढी – बाजुराको सदरमुकाम मार्तडीस्थित चामलको गोदाममा ताला लगाइएको छ। सधैँ खाद्यान्नको अभाव भइरहने बाजुरामा चामल किन्नेको भीड लागेपछि गोदाममा ताला लगाइएको हो।

सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा ताला लगाइएको छ। सस्तो मूल्य पर्ने मोटा चामल आउन थालेपछि किन्नेको भीड लाग्ने गरेको र चामल अभाव भएको भन्दै बिक्री वितरण बन्द गरिएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुरामा दुई सय क्विन्टल मोटा चामल आएर बिक्री भइसकेको छ। सोमबार बिहान थप एक सय क्विन्टल चामल आए पनि कार्यालयले ताला लगाएको छ।

गत शुक्रबार आएको एक सय क्विन्टल चामल आइतबार दुई घण्टामै बिक्री भएर सकिएको थियो। लामो समयसम्म महँगीको मारमा परेका यहाँका स्थानीय अहिले चामल आएपछि किन्नका लागि भीड लागे पनि चामल नपाएपछि रित्तै घर फर्कन थालेका छन्।

गत भदौ २४ मा सकिएको मोटा चामल करिब ६ महिनामा आएपछि चामल किन्नका लागि लाइन लागेका थिए तर आज चामल बिक्री हुँदैन भनेपछि रित्तै घर फर्कन बाध्य भएका हुन्।

सोमबार पुगेको एक सय क्विन्टल मोटा चामल अर्को पटक नआउँदासम्मका लागि बिक्री वितरण रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुराका प्रमुख उमेश भण्डारीले बताए।

उनले भने,’जिल्लामा कुनै पनि समयमा आपतकालीन अवस्था आउँन सक्छ, अर्को चरणको चामल नआएसम्म मोटा चामल बिक्री वितरण रोकिएको हो।’ मसिनो चामल भने बिक्री हुने उनले बताए। मार्तडीमा अहिले मसिनो जिरा चामल १ सय २० क्विन्टलभन्दा बढी मौज्दात रहेको छ।

पहिलो चरणमा कुटानी पिसानीको २ सय क्विन्टल चामल आएर बिक्री वितरण भइसकेको र एक सय क्विन्टल अर्को नआउँदासम्म स्टक राखिएको प्रमुख भण्डारीको भनाइ छ। जिल्लाकै अर्को कोल्टी बिक्री केन्द्रमा भने चामल नपुग्दा त्यहाँका स्थानिय महँगीको मारमा परेका छन्।

कोल्टीमा केहीदिनअघि १ सय क्विन्टल मोटा चामल पुगे पनि बिक्री भएर सकिसकेको छ। कोल्टीका लागि थप मोटा चामल बाटोमा आएको भए पनि सडक अबरुद्ध हुँदा मार्तडीमै थन्किने भएको छ।

मार्तडी कोल्टी सडकको अनाई खोलामा सडक भत्किएकाले उक्त सडकखण्डमा करिब एक हप्तादेखि सवारी आवतजावत बन्द छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख भण्डारीले बाटो अवरुद्धका कारण कोल्टीमा चामल पठाउन नसकिएकाले खुल्ने बित्तिकै चामल पुग्ने बताए।

यस्तै, हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल असारमा सकिएको थियो भने स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा गत आर्थिक वर्षको ५ सय क्विन्टल चामल गत जेठ महिनामै सकिएको थियो।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्