विद्यार्थीले आफै बनाउँछन् विद्यालयका लागि डेस्क–बेञ्च

दाङ – तुलसीपुर बहुप्राविधिक शिक्षालयमा प्रि–डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थी रोशन विष्ट शिक्षालय परिसरमा खाली समयमा बेन्च बनाइरहेको भेटिन्छन्।

शिक्षालयमा अध्ययन गर्ने उनका साथीहरुको समूह पनि रहेको छ। त्यही समूहले विद्यालयका लागि आवश्यक पर्ने विभिन्न ग्रीलका सामानहरु उत्पादन गरिरहेको छ। ‘पढेर बँचेको समय अनि ल्याबको समयमा हामीले विभिन्न ग्रीलका सामानहरु उत्पादन गरिरहेका छँ,’ उनले भने।

विद्यालयको वर्कशपमा उनीजस्ता अन्य विद्यार्थीहरुले केही न केही उत्पादन गरिरहेका हुन्छन्। शिक्षालयले विद्यार्थीहरुलाई उत्पादनसँग जोड्नका लागि औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गरिरहेको छ। अहिले कार्यक्रमअन्तर्गत २० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्।

अर्का विद्यार्थी आशिष चौधरी पनि सिकेको कुरालाई उद्यमशीलतासँग जोड्न पाउँदा खुसी लागेको बताए। उनले सीप सिकेपछि जीवनमा केही नयाँ काम गर्न सकिन्छ भन्ने सोच पलाएको पनि बताए। ‘अहिले सामान्य डेस्क बेन्चबाट निर्माणको सुरुवात गरेका छौँ। अब विस्तारै अन्य सामानहरु पनि उत्पादन गर्नेछौँ,’ चौधरीले भने। सबै कुरा सिकेपछि साथीहरुको संयुक्त प्रयासमा ग्रील उद्योग स्थापना गर्ने उनको सपना पनि छ।

सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा सञ्चालन भइरहेको कार्यक्रममा सहभागी विद्यार्थीहरुले पढाइलाई सिकाइ अनि सिकाइलाई कमाइमा रुपान्तरण गरिरहेका छन्। विद्यार्थीहरुले शिक्षालयमा अध्ययन गरेको कुनै पनि शुल्क तिर्नु पर्दैन। उनीहरुले मन्त्रालयको सहयोगमा पोशाकका साथै मासिक खाजा खर्चसमेत पाउने गरेका छन्

‘आर्थिक अवस्थाका कारण मैले प्राविधिक शिक्षा पाउन सकेको थिएनँ। यो कार्यक्रम आएपछि पढ्ने सपना पूरा भयो,’ विद्यार्थी डिबी लामाले बताए।

पहिलो चरणमा शिक्षालयका लागि आवश्यक पर्ने डेस्क बेन्चको निर्माण गरिरहेको शिक्षालय प्रमुख वसन्त आचार्यले जानकारी दिए। ‘विद्यार्थीहरुले अध्ययन सँगसँगै उत्पादनमा पनि सहभागिता जनाउने गरेका छन्,’ आचार्यले भने।

युवाहरुलाई उद्यमशील बनाउनका लागि कार्यक्रम फलदायी भएको बताउँदै उनले प्रयोगात्मक अभ्यासलाई विद्यालयले विशेष ध्यान दिएको कुरामा जोड दिए। पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत शिक्षालयले अन्य परियोजना पनि अगाडि बढाएको उनको भनाइ थियो।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्