सरस्वती पूजाको नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गरिने

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले सरस्वती पूजाको दिन गैरकानुनी गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले सोमबार सूचना जारी गर्दै पूजाको दिन र विसर्जनको दिन अवाञ्छित, अनैतिक, सामाजिक विकृति हुने खालका गैरकानुनी गतिविधि गरेको पाइएमा कारबाही गर्ने जनाएका हुन्।

प्रजिअ पाण्डेले सरस्वती पूजा मनाउने र मूर्ति विसर्जन गर्ने क्रममा चर्को स्वरमा डिजे बाजा बजाई अश्लिल गीतमा नाच्ने, लागुऔषध तथा मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, बाटोमा हिड्ने बालवालिकालाई जिस्काउने, एक आपसमा झैझगडा गर्ने, जबर्जस्ती रंगरअविर दल्ने, पूजाका लागि भनी चन्दा उठाउने जस्ता गतिविधि नगर्न अनुरोध गरेका हुन्।

जनकपुरधाम स्थितका दर्जनौ विद्यालयहरुले मूर्तिको स्थापना गरी पूजा गर्नेगरेका छन्। यस वर्ष भ्यालेन्टाइन डेकै दिन पूजा परहेकाले विद्यालय तथा क्याम्पसहरुले विद्यार्थीलाई ड्रेसमै आउन निर्देशन समेत दिएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) का क्याम्पस प्रमुख प्रदीपकुमार यादवले सोमबार एक सूचना जारी गर्दै पूजाको दिन अनिवार्य रुपमा विद्यार्थीलाई ड्रेस र आइडी कार्ड लिएर आउन निर्देशन दिएका हुन्। यस अघि संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीलाई स्कुल ड्रेसमै आउने आग्रह गरेका थिए।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्