कोसी प्रदेश सरकारले गर्‍यो विभिन्न चार विषयमा सर्वसम्मत निर्णय

मोरङ – कोसी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारपछिको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न चार विषयमा सर्वसम्मत निर्णय गरेको छ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सम्पन्न बैठकले खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिकाको नाम संशोधन गरेको छ।

बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले खोटाङमा रहेको गाउँपालिकाको नाम बाराहापोखरी गाउँपालिकाका लागि संशोधन प्रस्ताव स्वीकृत केन्द्रीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।

गाउँपालिकाबाट समेत आवश्यक प्रक्रिया पूरा गरी संशोधनका लागि प्रदेश सरकारमा कुरा आएसँगै छलफल गरी केन्द्रीय सरकारलाई नाम संशोधनका लागि सिफारिस गरिने उनले बताए।

त्यसैगरी, बैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित प्रदेश किताबखाना निर्देशिका २०८० लाई स्वीकृत गरेको प्रवक्ता राईले बताए।

बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन सार्नका लागि आएको प्रस्तावलाई स्वीकृत गरेको छ। प्रवक्ता राईका अनुसार हाल वडा नम्बर ६ मा रहेको भवनलाई गाउँसभाको दुईतिहाइ बहुमतले वडा नम्बर ५ मा सार्ने निर्णय गरिसकेको र अदालतले समेत भवन सार्नका लागि अनुमति दिइसकेको हँुदा गाउँपालिकाको सो प्रस्तावलाई स्वीकृत गरिएको हो।

त्यसैगरी, बैठकले ०८०/८१ का लागि आर्थिक मन्त्रालयले प्रस्ताव गरेको समपूरक र विशेष अनुदानका लागि गरिएको प्रस्तावमा आवश्यक छलफल गरी सर्वसम्मत रुपमा गरिने निर्णय भएको छ।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्