दुर्गा प्रसाईंलाई गृहमन्त्रीको फोनः आन्दोलनका लागि तपाईंलाई टुँडिखेल दिन सकिन्न

काठमाडौँ – गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आन्दोलनका लागि टुँडिखेल उपलब्ध गराउन नसकिने बताएका छन्।

श्रेष्ठले अर्को चरणको आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई सोमबार टेलिफोन गरेर सरकारविरुद्धको आन्दोलनको लागि राजधानीको टुँडिखेलमा स्थान दिन नसक्ने बताएको गृह मन्त्रालय स्रोतले देश सञ्चारलाई जानकारी दिएको छ।

प्रसाईंका यसअघिका आन्दोलनमा पनि सरकारले बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको थियो भने झडपको स्थितिसमेत आएको थियो।

प्रसाईंले फागुन १ गतेदेखि सुरु गर्न लागेको अर्को चरणको आन्दोलनलाई पनि सरकारले निगरानीमा राखेर टुँडिखेलबाहेकका स्थानमा आन्दोलन गर्न भनेर अघिल्लै दिन स्थान तोकिएको छ।

प्रसाईंको सचिवालयले फागुन १ गते मंगलबार भृकुटीमण्डपमा आन्दोलन गर्ने तयारी रहेको देश सञ्चारलाई जानकारी दिएको छ।

संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित प्रसाईंले अर्को चरणको आन्दोलन गर्न लागेका हुन्।

२० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्नेलगायतका माग पनि प्रसाईंको आन्दोलनले गर्दै आएको छ।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्