नेपालगञ्ज – जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कोहलपुर नगरपालिकाले जितेको छ। ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि पनि कोहलपुर नगरपालिकाले जीतेसँगै शिल्ड लिएको कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले बताए।

कोहलपुर नगरपालिकाले यसअघि लगातार दुई वर्षदेखि उपाधि जित्दै आएको थियो। कोहलपुरले समग्र ३६ गोल्ड, ९ सिल्भर र ५ ब्राउन्ज मेडल जित्दै रनिङ शिल्डको उपाधिमा ह्याट्रिक गर्न सफल भएको हो।

रनिङ शिल्डको उपाधि विजेता कोहलपुरले एथलेटिक्सतर्फ ३ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक सिल्भर, कबड्डीमा २ ब्राउन्ज, कराँतेमा ८ गोल्ड, ३ ब्राउन्ज, तेक्वान्दोमा १२ गोल्ड तथा उसुमा १२ गोल्ड जितेको थियो। उसुमा कोहलपुर बाहेक कुनैपनि पालिकाले सहभागिता जनाएका थिएनन्।

शिल्डमाथि कब्जा जमाएपछि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्र्रसाद आचार्यले खेलाडीहरुलाई बधाई दिए। उनले यो जीत सम्पूर्ण कोहलपुर नगरबासीको भएको भन्दै खेलकुद क्षेत्रमा स्थानीय सरकारको लगानीको औचित्य पुष्टि भएको बताए। उनले आगामी दिनमा खेलकुद क्षेत्रको विकासका लागि थप योजना र नीति बनाएर अघि बढ्ने प्रतिबद्धता गरे।

नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिएर काम गरिरहेको बताइन्।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्