प्रमिला दमाईको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ – काठमाडौँको एक होटलमा माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यसबारेमा जानकारी गराएको हो। माघ २७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला परेको थियो।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैद्येश्वर गाउँपालिका ७ भई अहिले काठमाडौँ डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताए।

उनले जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँ महानगरपालिका–९ भीमसेनगोलामा मृतकका श्रीमान नसे दमाईंसँग डेरा गर्दै बस्दै आएको बताए। एसएसपी खत्रीकाअनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो। दुवै विवाहित रहेको प्रहरीले बताएको छ।

उनले भने, ‘माघ २७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा भएको घटना हो। जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भई अहिले काठमाडौँ महानगरपालिका–९ भीमसेनगोलामा निजको श्रीमान् नसे दमाईंसँग डेरा गर्दै बस्दै आउनुभएका प्रमिला दमाईको हो भनि पहिचान भएको छ। हामीले प्रतिवादी बनाएका दोलखा वैद्येश्वर गाउँपालिका ७ भई अहिले काठमाडौँ डेरा गरी बस्ने कुमार श्रेष्ठ। दोलखाबाट मेरो साथी भन्ने रेडियो कार्यक्रमबाट भेट भएको।’

उनले पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्