व्यवसाय गर्नेभन्दा पनि नेता बन्नेको संख्या बढ्दै गयाेः मुख्यमन्त्री कार्की

मोरङ – पछिल्लो समय व्यवसाय गर्नेभन्दा पनि नेता बन्नेको संख्या बढ्दै गएको कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन्।

विराटनगरमा सोमबार नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको छैटौँ प्रदेश सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले व्यवसायी र नेताबीच अन्तर हुनुपर्ने बताए।

उनले भने, ‘व्यवसाय गर्नेभन्दा नेता बढी भएको अवस्था छ, तपाईंहरू या राजनीति गर्नुहोस् या व्यवसाय। दुई क्षेत्रमा हात हाल्यो भने सफल भइँदैन।’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकार र व्यवसायी साझेदार मात्र नभएर एक रथका दुई पांग्रा भएको उल्लेख गरे। साझेदार अलग भएर अघि बढे पनि रथमा पांग्रा छुट्टिँदा रथ कुद्न नसक्ने बताए।

त्यसैगरी, मुख्यमन्त्री कार्कीले सरकारलाई चलाउन कर आवश्यक हुने बताए। कर बिनाको सरकार चल्न नसक्ने बताएका मुख्यमन्त्री कार्कीले भने, ‘यहाँ कर बिनासरकार चल्दैन। व्यवसायी डुब्दा सरकारलाई गाह्रो हुन्छ। बंैक डुब्दा रोजगारी गुम्ने अवस्था हुन्छ। त्यसैले कोसी प्रदेश सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न योजना कार्यान्वयनमा ल्याउन लागेको छ।’

प्रदेशको उद्यमशीलतालाई अगाडि बढाउन उद्योग दर्तासम्बन्धी नियमावली ल्याएर प्रदेशबाटै उद्योग दर्ता, नवीकरणलगायत काम सुरु भइसकेको मुख्यमन्त्री कार्कीले बताएका छन्।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रम सबै समान हुने र श्रमको सम्मान गरिनुपर्नेमा जोड दिए। उनले भने, ‘मानिसले आफ्नो क्षमताको श्रम बेच्छ। विराटनगरभन्दा काठमाडौं बढी भएमा त्यहाँ आफ्नो श्रम बेच्छ, काठमाडौँभन्दा कतारमा बढी भयो भने त्यहाँ जान्छ। कतारभन्दा अमेरिका बढी भएमा त्यहाँ बेच्छ, श्रम बेच्न त पाइन्छ होला नि ?’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले नेपालको अर्थतन्त्र धराशयी हुनुमा घट्दो आयात–निर्यात मुख्य कारण भएको बताए।

अध्यक्ष राउतले आयात–निर्यात निरन्तर घट्दो क्रममा रहेको हुँदा मुलुकको अर्थतन्त्र माथि उठ्न नसकेको बताए।

उनले गत वर्षको तुलनामा आयात ३ दशमलव ०९ प्रतिशतले घटेको र निर्यात ७ दशमलव २३ प्रतिशतले घटेको उल्लेख गरे।

माघ २९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्