आदिवासी रंगशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूद्वारा निर्देशन

फाइल तस्बिर।

दमक- युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका- ५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

सोमबार रंगशालाको स्थलगत अवलोकन गर्दै उनले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारीसमेत दिए।

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत् रंगशाला निर्माणका लागि यस वर्ष रु एक करोड बजेट विनियोजन भएको छ।

रंगशाला निर्माणका लागि प्रतिष्ठानका महासचिव राईका अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरी काम भइरहेको गठित निर्माण उपभोक्ता समितिका सचिव रविन गुरुङले बताए।

विसं २०६९ देखि निर्माण थालिएको यो रंगशाला नामकरणको विवादका कारण केही समय निर्माण ओझेलमा परेको थियो।

सरकारबाट यो अवधिमा पटकपटक गरी रु दुई करोड बढी बजेट विनियोजन गरेर खेलमैदान सम्याउने, घेराबेरा लगाउनेजस्ता केही प्रारिम्भक चरणका काम भए पनि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)अनुसार काम हुनसकेको थिएन।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्