रूपा गाउँपालिकाले स्थापना दिवसमा भलिबल प्रतियोगिता गर्दै

पोखरा- कास्कीको रूपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता गर्ने भएको छ। रूपाले छैठौं स्थापना दिवसको अवसर पारेर अध्यक्ष कप खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो।

फागुन २४ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। भलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष नवराज ओझाले जानकारी दिए।

उनका अनुसार दोस्रो, तेस्रो र चौंथोले क्रमशः ८० हजार, ४० हजार र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडी ५ हजार रुपैयाँ पाउनेछन्।

गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिएर काम गरिरहेको अध्यक्ष ओझको भनाइ छ । खेलकुदमा भलिबललाई जोड दिएको उनले बताए।

‘युवा तथा खेलकुद विकास लागि एक वडा एक खेल मैदान निर्माणको काम गरिरहेका छौं’, उनले भने।

खेलाडीलाई सम्मान र प्रबद्र्धनमा पनि गाउँपालिकाले ध्यान दिएको ओझा बताउँछन्।

यस्तै, गाउँपालिकाले झाँकी प्रदर्शन प्रतियोगिता आयोजना गरेको छ । कला, संस्कृति, परम्पराको संरक्षण र प्रवर्द्धनमा झाँकी प्रदर्शन प्रतियोगिता आयोजना गरिएको हो।

विजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले २० हजार, तेस्रोले १० हजार र चौंथोले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

माला गाँस्ने प्रतियोगिता पनि गाउँपालिकाले आयोजना गरेको छ। विजेता, दोस्रो र तेस्रोले क्रमशः ६ हजार, ४ हजार र २ हजार रुपैयाँ प्राप्त गर्नेछन्। गाउँपालिकाले खादासँगै आयतित मालासमेत निषेधित गरेको छ।

यो वर्ष रूपा रत्न सम्मानबाट गाउँपालिकाका उत्कृष्ट किसानलाई सम्मान गरिनेछ। किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले ५ हजार रुपैयाँसहित रूपा रत्न सम्मान प्रदान गर्न लागिएको हो।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्