२ सय २८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै समेटियो

काठमाडौं- एसिसी महिला प्रिमियर कपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनले पराजित गरेको छ।

मंगलबार भएको खेलमा नेपालले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै समेटिँदा नेपालले रवाफिलो जित निकालेको हो।

माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अस्मिना कर्मचार्यले ४ विकेट लिँदा पूजा महतो र रुविना क्षेत्रीले समान ३-३ विकेट लिए। माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले माल्दिभ्सलाई २ सय २८ रनको विशाल लक्ष्य दिएको थियो। टस जितेर पहले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो।

नेपालको लागि रुविना क्षेत्रीले ५९ बलमा १ सय १८ रनको सानदार शतकीय इनिङ खेलेपछि नेपालले माल्दिभ्सलाई अहिलेसम्मकै उच्च स्कोरको लक्ष्य दिएको हो।

नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो रन स्कोर हो। यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनायो। नेपालका लागि रुविनाले सर्वाधिक व्यक्तिगत स्कोरसमेत बनाइन्।

उच्च स्कोर बनाउने क्रममा रुविनाले आफ्नो इनिङमा १० चौका र ५ छक्का प्रहार गरेकी थिइन्। त्यस्तै, पूजा महतो ५९ रनमा अविजित रहिन्। उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरीन्। किविता कुँवरले १३ रन बनाउँदा सीता राना मगरले १५ रन बनाएकी थिइन्।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्