प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पोखरामा आलु प्याज बेच्ने पसलको अनुगमन

पोखरा – प्रधानमन्त्री कार्यालयले निर्देशनसहित पत्राचार गरेपछि पोखरा महानगरपालिकाले आलु प्याज बिक्री गर्ने पसलको अनुगमन गरेको छ।

मंगलबार पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ नेतृत्वको टोली आलु, प्याज र तरकारी बिक्री गर्ने पसलमा अनुगमन गरेको हो।

माघ २८ गते प्रधानमन्त्रीको कार्यालयबाट आलु, प्याज बिक्री गर्ने पसलको अनुगमन गर्न निर्देशनसहितको पत्र पोखरा महानगरपालिकाले प्राप्त गरेको थियो। ‘हेलो प्रधानमन्त्री’ मा पोखरामा कुहिएको आलु प्याज भेटिएको भन्दै गुनासो दर्ता भएपछि महानगरलाई प्रधानमन्त्रीको कार्यालयले पत्र लेखेको थियो।

पोखराको शान्ति वनस्थित कृषि उपज तथा थोक बजारभित्र सञ्चालनमा रहेका ४ आलु, प्याजका पसलमा अनुगमन गरिएको अनुगमन संयोजकसमेत रहेकी मञ्जुदेवी गुरुङले जानकारी दिइन्।

अनुगमनका क्रममा मुल्यसूची टाँस नभएको, नापतौलको दर्ता नभएको, व्यवसाय नवीकरण नगरेको, खरिद तथा बिक्री बिल नभएको भेटिएको उनको भनाइ छ।

आलु प्याजको खुद्रा र होलसेल मूल्यमा धेरै अन्तर फेला परेको छ। उपभोक्ता र व्यवसायी दुवैलाई मर्का नपर्ने गरी समायोजनका लागि पहल उपप्रमुख गुरुङको भनाइ छ।

अनुगमनका क्रममा हेलो प्रधानमन्त्रीमा परेको उजुरीमा जस्तो कुहिएका आलु, प्याज नभेटिएको पोखरा महानगर आर्थिक विकास महाशाखा मनहर कडरियाले बताए।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्