देशसञ्चार चौतारी : भाग-३१

८१ वर्षीय आख्यानपुरुषका अनेकौँ किस्सा

काठमाडौँ- देशसञ्चार चौतारीको यस अंकमा हामीले आख्यानकार ध्रुबचन्द्र गौतमसँग अन्तर्क्रिया गरेका छौँ। ८१ वर्ष उमेर पार गरेका यी आख्यान पुरुषले वीरगञ्जदेखि काठमाडौँसम्मका अनेकौँ किस्साहरु हामीसँग सुनाए।

थुप्रै उपन्यास, थुप्रै कविता, थुप्रै कथा, नाटक र स्क्रिप्टसम्म लेखेका गौतमले रमाइलो शैलीमा हाम्रा प्रश्नहरुको जवाफ दिएका छन्।

२०२० सालमा रुपरेखा साहित्यिक पत्रिकाबाट नेपाली भाषामा छापिन थालेका गौतमले त्योभन्दा एक वर्षअगाडि हिन्दी भाषामा आफ्नो पहिलो रचना प्रकाशित गरिसकेका थिए। उपन्यासकार ध.च. गोतामेका भाइ उनी दाइकै साथ लागेर काठमाडौँमा आएका थिए, वीरगञ्जिया जनजीवन त्यागेर।

वीरगञ्ज आफूले देखेको स्वरुपमा अहिले नभए पनि आफूले देखेको वीरगञ्ज आफ्नो स्मृतिमा सधैँ रहिरहेको र त्यो सहरले आफ्नो सिर्जनामा एकदमै ठूलो भूमिका खेलेको उनले बताए।

‘कट्टेल सरको चोटपटक’ शीर्षकको उनको कृतिलाई वासुदेव फिल्ममा उतारिएको बेला उक्त फिल्ममा अभिनेता हरिहर शर्माले आफ्नो कोट लगाएको रमाइलो प्रसंग पनि उनले कोट्याए।

साहित्य किन लेख्नुहुन्छ भन्ने प्रश्नको जवाफ कसैले दिन नसक्ने उनले बताए। ‘तर मलाई यस क्षेत्रमा कसले प्रेरणा दियो भन्ने प्रश्नको जवाफ भने दिन सकिन्छ,’ उनले भने।

वीरगञ्जमै प्रख्यात भइसक्दा पनि पारिवारिक कारणले काठमाडौँ आएको उनले बताए।

भाषाविज्ञानमा पीएचडी गरेका गौतमले आफूले पढ्दाका रमाइला किस्साहरु पनि देशसञ्चार चौतारीका क्रममा सुनाए।

आफूले अझै धेरै लेख्न बाँकी रहेको उल्लेख गर्दै गौतमले भने, ‘मैले जीवनमा सोचेजति लेख्न नसकूँला कि, सोचेजति पढ्न नसकूँला कि भन्ने चाहिँ अझै लाग्छ।’

उनै गौतमसँग गरिएको देशसञ्चार चौतारी:

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्