आवश्यक परे फेरि अर्को जनयुद्ध लड्न तयार छौँ : पुन

काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादी जनयुद्धका उपलब्धीको उपभोग गर्ने तर जनयुद्ध स्वीकार नगर्ने प्रवृत्तिविरुद्ध भण्डाफोर अभियान चलाइने बताएका छन्।

२९औं जनयुद्ध दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमा पुनले अवसरवादी प्रवृत्तिका केही दल तथा राज्य सञ्चालनका महत्वपूर्ण भूमिकामा रहेकाहरु जनयुद्धबाट प्रत्यक्ष लाभ लिए पनि नियोजित रुपमा आफूहरुको आन्दोलनबारे जनतामा भ्रम फैलाउन उद्धत रहेको बताए।

माओवादी जनयुद्धले नेपालको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा आमुल परिवर्तन र जागरण ल्याएको भन्दै त्यसका परिणामहरु समाजमा विभिन्न रुपमा प्रकट भइरहेको उल्लेख गरे।

सयौं वर्षको आधुनिक नेपालको इतिहाससमा एकैपटक मुलुकको सर्वोच्च पद राष्ट्र प्रमुख, न्यायालय प्रमुख र विधायिका प्रमुखमा महिला पुग्नु, संघीय संसद र प्रदेशसभामा ३३ प्रतिशत तथा ७ सय ५३ वटै पालिकाका ४० प्रतिशत तथा निजामति सेवामा २८ प्रतिशत महिला सहभागीताको वातावरण बन्नुमा आफूहरुको नेतृत्वमा भएको जनयुद्ध कारण रहेको दाबी उनको थियो।

‘सयौं वर्षको इतिहासमा पहिलोचोटी एकैपटक महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख बन्ने अवस्था हाम्रै जनयुद्धका कारण आएको हो । कतिपय मानिसहरु जनयुद्धकै कारण प्रधानमन्त्री, मन्त्री, सांसद, जनप्रतिनिधि भएका छन्’, पुनले भने, ‘तर, त्यही माओवादी आन्दोलनको खोइरो खन्दै हिंडेका छन् । जनयुद्धले ल्याएका उपलब्धीको उपभोग गर्ने, पदमा पुग्ने अनि जनयुद्ध ठीक थिएन भनेर जनतामा भ्रम फैलाउन खोज्ने अवसरववादी प्रवृत्तिको अब हामी भण्डाफोर गर्छौं ।’

उनले जनयुद्ध दिवस मनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाए । ‘जसले न्यायालयलाई समावेशी बनायो । महिलाहरु पनि न्यायाधीश बन्न पाउने व्यवस्था ल्यायो । त्यही मानिसले कसरी माओवादी आन्दोलनबारे कूतर्क गरेर कसरी जथाभावी फैसला लेख्न सकेको होला?’, उनले अदालतप्रति प्रश्न गर्दै भने ।

पुनले आफूहरु जहिले पनि सत्यका आधारमा तथ्य खोज्ने माक्र्सवादी शैलीको पक्षमा रहेको भन्दै विरोधीका भ्रमहरु चिरेर इतिहासमा जनयुद्ध युगान्तकारी परिवर्तन ल्याउने आन्दोलन थियो भन्ने सत्य स्थापित गरेर छाड्न सफल हुने विश्वास व्यक्त गरे ।

आफूले २४ वर्षको छँदा ०५२ फागुन १ गते पहिलोपटक रोल्पाको होलेरी प्रहरी चौकी आक्रमणको नेतृत्व गरेको भन्दै पुनले आवश्यक परे फेरि अर्को जनयुद्ध लड्न तयार रहेको बताए।
यद्यपि आफ्नो पार्टी प्रतिस्पर्धात्मक राजनीतिको पक्षमा रहेको उनको भनाइ थियो।

‘०५२ फागुन १ गते २४ वर्षको उमेरमा म कमाण्डर र पूर्वउपराष्ट्रपति आदरणीय नन्दबहादुर पुन सहायक कमाण्डरको भूमिकामा रहेर होलेरी प्रहरीमा आक्रमण गरेका थियौं’, पुनले भने, ‘देश बदल्न अझै आवश्यक फेरि अर्को जनयुद्ध लड्न तयार छु ।’ पुनले तत्कालीन काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला लोकतन्त्र बहालीको आन्दोलनमा ८० वर्षको उमेरमा सडकमा उत्रिएर लठ्ठी खाएको स्मरण गरे ।

फाल्गुन १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्