
काठमाडौँ – कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ। सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा सिनेमाका मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन्। जसले सिनेमाको कथासार बुझाउन मद्दत गर्छन्।
झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना तथा सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ। सिनेमाको यसअघि टिजर, ट्रेलर तथा फरक शैलीको प्रचारले सिनेमा चर्चाको शिखरमा छ। आज सार्वजनिक गीतले पनि सिनेमाको प्रचारमा ठूलो सहयोग पुग्ने बुझाइ निर्माण टिमको छ। ‘मनसरा’ले नेपाली सिनेमामा हुने गरेको दृश्य कथाको खडेरीलाई सम्बोधन गर्ने देखाएको छ।
सिनेमामा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटता, बाजेकी नेवार्नी पत्नी बनेकी मेनुकासँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ। यस्तै, दयाहाङ र मिरुनासँग सम्बन्ध पनि सिनेमामा रहेकाले यो कथा र पात्रको एकअर्काको सम्बन्धको जालो कन्फ्युजिङ रहेकाले दर्शकप्रति कौतुहल्ता पैदा गर्न सफल देखिएको छ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ। निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्।
सिनेमामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन्। निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन सिनेमामा रहेको छ।
त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन्। वैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ। क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो।