काठमाडौँ – कुनै एक कविको कविताको एक पंक्तिपछि अर्को पंक्तिमा आफ्नो भावना या आफूलाई फुरेको विम्ब जोड्न लगाइरहेका थिए प्रशिक्षार्थीहरू माझ अमेरिकी कवि डा. रवि शंकर।
बुढानीलकण्ठस्थित पार्क भिलेजमा सुरु भएको न्युयोर्क राइटर्स वर्कसपमा सहभागी प्रशिक्षकहरु कवितालाई चाहिने विम्ब खोज्न हतारिए। कसैले लेखेर सुनाए। कसैले पछि सुनाउन चाहे।
जेठ ९ गतेदेखि सुरु भएको कार्याशालाको दोस्रो दिन न्युयोर्क राइटर्स वर्कशपमा आगन्तुक लेखकहरूले नेपाल र नेपाली साहित्यको विषयमा पनि कुरा गरे। सेन्ट्रल कनेक्टिक स्टेट युनिभर्सिटी र हङकङको सिटी युनिभर्सिटीका पूर्व साहित्यका प्रध्यापक तथा एशिया प्यासिफिक लेखक तथा अनुवादका अध्यक्षसमेत रहेका डाक्टर शंकरले सन् २०१४ तिर नेपाल आउँदाको अनुभव पनि सुनाए।
‘अतिथिहरुलाई सम्मान गर्ने शैली नेपालीहरुको बडो आकर्षक लाग्छ,’ यो कार्याशालामा नयाँ र पुराना दुवै पुस्ताका लागि यो वर्कशप आवश्यक छ। साथै मलाई नेपालको काठमाडौँ रहस्यमय लाग्छ।’

न्युयोर्क राइटर्स वर्कसपका अध्यक्ष टिम टमलिन्सनले नेपालमा वर्कशप राखेर विश्वको लेखकहरुलाई जोड्न पाएकोमा खुशी व्यक्त गरे। उपस्थित लेखकहरुलाई हसाउँदै नेपालको हिमाल पहाड र सहरको सुन्दरताको खुलेरै प्रशंसा गरे उनले। भने, ‘न्युयोर्क राइटर्स वर्कशपको २०२० बाट सुरु भएको र यसको प्रभाव विश्वमा पुगिरहेको छ। र यो पटक हामीले नेपालमा गर्न पायौँ।’
त्यसैगरी लेखक जामी प्रोक्टर जू एक कवि अनुवादक कलाकार हुन्। उनी चिनियाँ र अंग्रेजी भाषामा लेख्दै आइरहेकी छन्। चिनियाँ भाषाबाट अंग्रेजीमा पनि थुप्रै लेख रचनाहरु अनुवाद गर्दै आएकी जामीले चिन र नेपालको बारेमा आफ्ना अनुभव सुनाइन्। उनले भनिन्,‘चिनिया साहित्य त मैले अनुवाद गर्दै आइरहेको छु। अब नेपाली पनि गर्न पाइयोस्।’

हङकङ निवासी पत्रकार लेखक तथा मेन्डिङ लाइभ्स् पोडकास्टकी सञ्चालक जोन हाङले एसिया मुलुकमध्ये भारतमा बस्दाको अनुभव सुनाइन्। ‘मेन्डिङ लाइभ्स् पोडकास्ट’ खुल्न पुग्दाको अनुभव आफ्नै छोरीको निर्मम हत्या हुन पुगेपछिको छोटो अनुभव सुनाइन्, ‘भारत बसाइका क्रममा धेरै दुःख भोगेको छु। जब छोरी दुर्घटनामा गुमाए अनि मैले पोडकाष्ट सुरु गरेँ।’
नेपालको प्रकृति र मानवीय बस्तीलाई सँगै जोडेर लैजानका लागि नेपाल उत्तम लोकेशन रहेको बताए फेस्टिभलका संरक्षक एवम् हिमालयन कवि युयुत्सु आरडी शर्माले। नेपालको भाषा साहित्य र संस्कृतिलाई विश्व साहित्य बजारमा कसरी पुर्याउने भन्नेबारे आगन्तुक लेखकलाई जानकारी गराए।
नेपाल, भारत, चीन, हङकङ, अमेरिका, रसिया, अष्ट्रेलिया, फिलिपिन्सलगायत १२ भन्दा बढी मुलुकबाट ३५ अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षकहरू सहभागी हुनेछन्। क्यालिफोर्नियास्थित ह्वाइटर कलेजका प्रोफेसर डा. टोनी बार्नस्टोनको पनि उपस्थिति रहनेछ। शर्माले भने, ‘कार्यशालामा लेखकहरूले आफ्ना साहित्यिक रचना प्रदर्शन गर्नेछन्। मुख्य कार्यक्रमहरूको अतिरिक्त महोत्सवमा पुस्तक हस्ताक्षर, पुस्तक विमोचन र विभिन्न विधाका लेखकसँग अन्तरक्रियात्मक सत्रहरू समावेश हुनेछ।’
जेठ ९ देखि १३ गतेसम्म कार्याशाला र १४ देखि १५ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल हुने र त्यसक्रममा समूहगत छलफल, नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा कविता प्रस्तुति, फोटोग्राफी, योगा, मेडिटेसनलगायत कार्यक्रम हुने आयोजकले जनाएको छ।
काठमाडौँ, पोखरा र चितवनजस्ता ठूला सहरका पर्यटकीय क्षेत्रमा आगन्तुक लेखकलाई घुमाउने र साहित्यिक अन्तरक्रिया गर्ने आयोजकले बताए।


भर्खरै
लोकप्रिय






































































































































































































