‘सेतो सिउँदो’ उपन्यास सरसर्ती नियाल्दा

‘सेतो सिउँदो’ उपन्यास सरसर्ती नियाल्दा
+
-

आख्यान र गैरआख्यान दुवै विधा तथा नेपाली र अंग्रेजी दुबै भाषामा समान रूपमा कलम चलाउने साहित्यकार डा. संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ हात पर्‍याे। मैले यसलाई सरसर्ती पढें। पढेर अन्तिम पानामा पुग्ने बेलासम्म यसका घटना र पात्रहरूले मलाई निकै छोयो।

यस कृति पढ्दै गर्दा मैले अनुभूत गरेका केही अनूभूतिहरू लेख्न मेरो मनले मलाई धेरै पटक घच्घचायो। बेलायतमा नै विभिन्न साहित्यिक कार्यक्रममा भेटघाट हुँदा परिचित भएकी डा. संगीता महेन्द्र विद्याभूषण (सन २०००) र नेपाल विद्याभूषण (सन २०१४) बाट विभूषित व्यक्तित्व हुन्।

काठमाडौंमा जन्मेर हुर्किएकी र त्यहाँका प्रतिष्ठित स्कुल र कलेजमा शिक्षित संगीता बेलायतको सरे युनिभर्सिटीबाट विद्यावारिधि गरेकी छन्। अहिले लण्डनस्थित ‘फिड ड माइन्डस्’ को सञ्चार प्रबन्धकका रूपमा कार्यरत छिन्।

‘सेतो सिउँदो’ बाहेक उनकाे ‘गुलाफसँगको प्रेम’ कथासंग्रह र ‘असहमतिका पाइलाहरू’ संयुक्त कथा संग्रहसमेत प्रकाशित छन्। कथा तथा कवितामा समेत उनकाे कलम उत्तिकै सक्रिय देखिन्छ।

अब कुरा गरौं ‘सेतो सिउँदो’को। प्रस्तुत उपन्यास मूलत: प्रेम कथामा आधारित वियोगान्त सामाजिक उपन्यास हो। मीठो नेपाली भाषामा लेखिएको त छँदैछ, त्यसबाहेक मुम्बई र कोलकातातिरको कथावस्तुलाई उतार्न उपन्यासकारले हिन्दी भाषाको समेत प्रयोग गरेकी छन्।

यस उपन्यासकाे मुख्य नारी पात्र सन्ध्या हुन्। सानै उमेरमा मातापिताको मृत्यु भएकोले काका-काकीसँग बस्दै आएकी उनकाे मन र जीवनसँग जोडिन आएका २ प्रेमी पुरुष पात्र जीवन र विकास हुन् भने सन्ध्याकै मिल्ने साथी आशा र निशितको पनि प्रेमकथा पनि उपन्यासमा उल्लेख गरिएकाे छ।

विकासले प्रेमको निशानी स्वरूप आफ्नो रगतले सन्ध्याको सिउँदो रंगाइदिन्छ। विकासको अल्पायुमा भएको मृत्युसँगै भावनात्मक रूपमा फेरि सिउँदो पखालिएको सन्ध्यालाई महसुस हुन्छ, चुरा फूटेको आभास हुन्छ। उनको जीवनमा फेरि जोडिन आएको अर्को प्रेमी जीवनसले सिन्दुर लगाइन्छ र उसैले नै मुम्बईको कोठीमा बेचिदिन्छ तीस हजारमा। उसले लगाइदिएको सिन्दुर पनि अनर्थ सावित हुन्छ।

सन्ध्याकी प्रिय साथी आशाको पनि बिहेको पहिलो वर्षगाँठमै उनको प्रेमी/श्रीमानको मृत्युसँगै उनको पनि सिउँदोको सिन्दुर पखालिन्छ।

यसर्थ यस पुस्तकको नामाकरण ‘सेतो सिउँदो’ अत्यन्त सान्दर्भिक बनेको छ। उपन्यासमा छोरी मान्छेको मनोविज्ञानलाई मसिनो गरी केलाइएको छ भने भयानक रस, करुण रस, वीर रस, शृंगारिक रसजस्ता रसयुक्त यस उपन्यासमा हाम्रा चेलिबेटी कसरी बेचिन्छन्? जस्ता घटना परिघटना र उपघटनामा उपन्यासको कथावस्तु बेरोकतोक निरन्तर बगेको छ।

पाठकलाई कतिबेला पढेर सकूँ, यसपछि के होला भन्ने उत्सुकता जगाउने खालको कथावस्तु उपन्यासमा छ। छोरी मान्छेले भोग्नुपर्ने दुःख कष्ट, संघर्ष, चुनौती र समाजले हेर्ने दृष्टिकोणलाई पनि अत्यन्तै मिहीन ढंगले स्पष्ट पारिएको छ भने वातावरण प्रदूषणप्रति पनि चेतना जगाउने कोसिस गरिएको छ। धनीको सुख सुविधादेखि गरिबीको पराकाष्ठा उतारिएको छ।

सपांग र अपांगबीचको मनोविज्ञानको सचित्र चित्रण गरिएको यो उपन्यासमा ठाउँ ठाउँमा प्रयोग गरिएको कविता र चिठ्ठीले अझै आकर्षण बढाएको छ। आख्यानकारलाई कवितामा पनि राम्रो दख्खल भएको प्रष्ट बुझ्न सकिन्छ।

जीवनको संघर्षलाई सहनशीलतामा बदलेर समाज सेवामा लगाई शान्ति प्राप्त गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ यस उपन्यासले। उपन्यासले मानवसेवाको पनि राम्रो वकालत गरेको छ। नारी सहनशिलताले धर्ती मात्र होइन, आइपरेमा आफ्नो इज्जत र आत्मा रक्षाको लागि स्वयं देवी कालीको रूप धारण गर्न सक्छे भन्ने कुरा पनि प्रष्टसँग बुझाउन सफल छ।

आकर्षक कभर पेजमा रहेको यो उपन्यास १८ खण्ड र २२७ पेजमा लेखिएको छ।भाषागत र व्याकरणगत रूपमा पनि उपन्यास सक्षम छ। सहज र सरल भाषामा लेखिएको ‘सेतो सिउँदो’ सबैले पढ्नलायक उपन्यास हो।

गजबको विषय त यो छ कि सेतो सिउँदो उपन्यासकी लेखक डा. संगीता स्वेच्छाले आफ्नो अठार वर्षको उमेरमा लेखेकी थिइन्। उपन्यास २०४९ सालमा ‘पखालिएको सिउँदो’ नामबाट प्रकाशित भएकाे थियाे। दोस्रो संस्करणको रूपमा भने ‘सेतो सिउँदो’नामबाट बजारमा बुकहिल पब्लिकेसनले ल्याएकाे हाे।

नौ खण्डसम्म अक्षर र दश खण्डदेखि अठार खण्डसम्म अंकमा खण्ड छुट्टाइएको छ। यसलाई एकै बनाएकाे भए अझै सुन्दर हुन्थ्यो कि भन्ने लाग्छ। कुनै कुनै ठाउँमा भेटिएको प्रिन्ट मिस्टेक (मुद्रा राक्षस )पनि सुधार गर्नु सान्दर्भिक देखिन्छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष