
अन्तत वर्षौँ पुरानो भारत-चीन सीमा विवाद समाधान गर्न दुवै देश सकारात्मक भएका छन्। सम्भवत:रसियामा हुने ब्रिक्स सम्मेलनमा भारत र चीनबिच औपचारिक रुपमा सीमा विवादका बारेमा दुई देशले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यामले दाबी गरेका छन्।
पछिल्लो समय रसियाले भारत र चीनबिचको विवादमा कयौं महिनादेखि मध्यस्तको भूमिका निभाएर दुई देशलाई नजिक ल्याएको विश्लेषण भएको छ। यस्तोमा खालीस्तानी हत्यामा भारत सरकारको संलग्नता रहेको क्यानडाको आरोप र सोही प्रकृतिको मुद्दामा अमेरिकामा समेत भारतीय कुटनीतिक अधिकारीमाथि छानविन सुरु भएसँगै भारत पश्चिमा र अमेरिकासँग सशंकित छ।
यस्तोमा उसले अन्य पश्चिमा राष्ट्रबाट पनि गतिलो समर्थन नपाउँदा युरोप र अमेरिकालाई साइजमा राख्नका लागि पनि चीनसँग सम्झौतामा पुग्न लागेको दाबी सञ्चारमाध्यामहरुले गरेका छन्।
यसले एसियामा उदाउँदा दुई देशबिचको मित्रता र रसियाको साथका कारण रसियामा आयोजना हुन लागेको ब्रिक्सलाई पनि महत्त्वका साथ हेरिएको छ। कतिपयले ब्रिक्स राष्ट्रमा लागु हुने भनिएको नयाँ मुद्राका कारण पनि अहिले ब्रिक्स सम्मेलन बहुचर्चित बनिरहेको छ। चीन, भारत र रसियाबिचको सम्बन्धलाई लिएर अमेरिका र पश्चिमा राष्ट्रले चासोपूर्वक हेरेपनि उनीहरुले कुनै धारणा सार्वजनिक गरेका छैनन्।
रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले ब्रिक्स समिटअघि रुस, भारत र चीनबीच त्रिपक्षीय वार्ता हुने बताए। यी तीन देशबिच औपचारिक रुपमा बैठक भएको छैन। संभवत यो बैठकले एउटा महत्त्वपूर्ण निर्णय लिन सक्ने चर्चा चलेको छ। एक सञ्चारमाध्यामलाई अन्तर्वार्ता दिँदै विदेशमन्त्री लाभरोभले कोभिड र विभिन्न कारणले त्रिपक्षीय वार्ता सम्भव नभएको र यो पटक त्यो संभव हुने बताए।
लाभरोभका अनुसार १९९० को दशकमा रुस, भारत र चीनबिच त्रिपक्षीय बैठकको प्रयास भएको थियो। पछि विस्तार भएर यसले ब्रिक्सको आकार लिएको उनले बताए। यसमा ब्राजिल र दक्षिण अफ्रिका जोडिएका थिए। १ जनवरी २०२४ मा ब्रिक्समा नयाँ चार देश थपिए जसमा इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्स सामेल छन्।
रुसका विदेश मन्त्री लाभरोभले पश्चिमाहरुको विरोधका लागि ब्रिक्स नबनेको बताए। उनले विश्वमा नयाँ आर्थिक केन्द्रको उदय भइरहेको र ब्रिक्सले विश्व अर्थब्यस्थालाई ट्र्याकमा ल्याउन र आफ्ना सदस्य राष्ट्रको हितमा काम गर्ने बताए।
ब्रिक्सको पहिलो बैठक रुसमै सन् २००९ मा भएको थियो। अहिले लगातार विभिन्न देशमा बस्दै छ। अहिले १६ औं ब्रिक्स समेल्लन रुसको कजानमा आजदेखि २४ अक्टोबरसम्म हुने कार्यतालिका रहेको छ।
२००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक नामको संगठन घोषणा गरेका थिए। २०१० मा दक्षिण अफ्रिका थपिएपछि ब्रिक्स भएको थियो। यो संगठन विश्वमा जिडिपीको हिसाबले तेस्रो ठूलो हो। जी-२०, जी ७ र इयूपछि ब्रिक्स आउने गरेको छ।