नेपाली राष्ट्रिय क्रिकेट टिमको अन्तर्राष्ट्रिय यात्राको लामो सारथी हुन् ज्ञानेन्द्र मल्ल। जतिबेला नेपालमा क्रिकेट क्रेज बढाउनु पर्ने जिम्मेवारी तत्कालीन टोलीमा थियो। अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा नेपाली क्रिकेट पहिचानलाई फरक स्तरमा पुर्याउने र पहिलो पटक टी-२० विश्वकप र एकदिवसीय मान्यतासम्मको स्तरमा लग्नका लागि महत्वपूर्ण भूमिका निभाएका मल्लसँग यो पटक देशसञ्चार चौतारीमा अन्तरङ्ग कुरा भएका छन्।
मल्लले क्रिकेटर नै हुन्छु भन्ने सपना त धेरे पछि मात्रै देखे तर जीवनमा उनले देशको सेवा गर्ने सपना भने सानैमा देखेका थिए। अर्थात आर्मी भएर देशको सेवा गर्छु भनेर सोच्ने गरेका मल्लाई गल्ली क्रिकेटको लगावले राष्ट्रिय टिमसम्म पुर्यायो।
अझ उनलाई राष्ट्रिय टिममा मात्र पुर्याएनन्, उनी धेरै खेलाडीका ‘आइडियल’ भएर बाँच्ने सीमित खेलाडीमा पर्न सफल भए।
मल्ल भन्छन्, ‘मैले सबैभन्दा मजाले पाएको चिज नै ‘रेस्पेक्ट’ हो। जसले मलाई र मेरो नामलाई चिनाएको छ।’
उनी थप्छन्, ‘बाटोमा हिँड्दा ज्ञानेद्र दाइ भन्ने र मेरो कारणले कोही क्रिकेटमा सपना देख्ने अवस्थामा पुग्नु र राष्ट्रिय टोली सम्म पुग्नुभन्दा गर्वको कुरा के हुन्छ?’
त्यसो त मल्ललाई क्रिकेटर नै भएर बाँच्नका लागि मुस्किल समय नआएको होइन। उनको भनाइ मान्ने हो भने उनले पनि कुनै समयमा परिवार र आफ्नो सुरक्षित भविष्यका लागि पलायनको सोच मात्र बनाएनन्, विदेशिनका लागि डकुमेन्टेसन नै गरे। तर, उनले त्यो गर्दागर्दै पनि क्रिकेटको शोखलाई भने पछ्याउन छाडेनन्।
उनी भन्छन्, ‘विदेशिने सोच आएको मात्र होइन, मैले प्रयास नै गरेको हुँ। तर, मैले विदेशिँदा पनि क्रिकेट खेल्ने पाउने ठाउँनै रोजेको थिँए। अर्थात अस्ट्रेलिया जानका लागि प्रयास गरे। तर, मेरो भाग्य भनौँ कि दुर्भाग्य भिसा नै लागेन।’
ठ्याक्कै त्यही समयदेखि नै हो मल्लमा अझ बढी लगाव देखिएको अनि नेपाली क्रिकेटले पनि लयवद्ध रुपमा फड्को मार्न थालेको। मल्ल आफूभन्दा अघिल्लो पुस्ताले प्यासनले क्रिकेट खेलेको र जग बसाएको मान्छन्। उनी भन्छन्, ‘हामीभन्दा अघिल्लो पुस्ताले पैसाभन्दा बढी देशका लागि क्रिकेट खेले।’
उनी थप्छन्, ‘हाम्रो पालामा व्यावसायिकता बढ्यो। क्रिकेट खेलेर पैसाको आम्दानी र घर खर्च गर्न सक्ने अवस्था सिर्जना हुन थाल्यो।’
अहिलेको अवस्थामा क्रिकेटमा राष्ट्रिय टोलीमा परेका खेलाडीले नेपालमा राम्रो आम्दानी गर्ने सेक्टरको भन्दा बढी आम्दानी गर्ने अवस्थामा पुगेको उनी बताउँछन्। ‘अहिले महिनाको एक, डेढ लाख कमाउने सीमित मात्र पेशा होलान्, जो नेपाली क्रिकेट खेलाडीले पाउने गरेका छन्। यसलाई अझै बढाउनु पर्छ।’
उनी राष्ट्रिय क्रिकेटर मात्र सेटल भएर क्रिकेट विकास नहुने भन्दै प्रदेश र जिल्लासम्म पनि राम्रो खेलाडीले तलब पाउने अवस्था आएको दिन नेपाली क्रिकेट फरक अवस्थामा पुग्ने बताँउछन्। उनी भन्छन्, ‘जुन दिन खेलाडीले प्रदेश र जिल्लामा पनि मासिक रुपमा तलब पाउन थाल्छन्, त्यो दिनदेखि नेपाली क्रिकेट साँच्चीकै लोभलाग्दो अवस्थामा पुग्नेछ।’
मल्लले देशसञ्चार चौतारीसँग आफ्नो क्रिकेट करिअरसँगै जीवन र क्रिकेटसँग जोडिएका अनौठा भोगाइहरु साझा गरेका छन्। उनले आफ्नो क्रिकेटको सुरुवातदेखि अन्त्यसम्म र भविष्यको योजनाहरु र नेपाली क्रिकेट भविष्यका बारेमा खुलेर गरेका छन्। साथमा रमाइला किस्सा र केही भावनात्मक विगतलाई समेत कोट्याएका छन्।