
काठमाडौँ – निर्माणस्थलमा के हुन्छ? निर्माणको काम हुन्छ। निर्माणस्थलमा केही न केही निर्माण गर्ने हो। अर्थात् बनाउने हो। आकार दिने त हो।
बनाइसकिएको अर्थात् आकार दिइसकिएकोलाई फेरि भत्काउनु त उल्टो काम भएन र? हो, यस्तै उल्टो काम चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा बनिरहेको देशकै पहिलो फ्लाइओभर (ओभरपास)मा भइरहेको छ।
शनिबार दिनको करिब सवा १२ बजे, ग्वार्को चोकमा पुग्दा एउटा स्काभेटरले चारतिर घुमेर आकार दिइसकिएकोलाई भत्काइदिरहेको छ। दर्जनजति श्रमिकहरू पनि भत्काउन खटिरहेको देखिन्छन्।
यो फ्लाइओभर देशकै पहिलो फ्लाइओभर हो। आजसम्म भत्काइरहेको दृष्य देखिने ग्वार्कोमा निर्माण कम्पनीले समयमै काम गरिदिएको भए वर्ष दिनअघि नै फ्लाइओभर निर्माण भइसक्नुपर्ने हो।
तर निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको तीन वर्षसम्म पनि काम सकेको छैन। आशिष–समानान्तर–रेलिगेल जेभी कम्पनीले १२ फागुन २०७८ मा १७ करोड ६ लाख ८८ हजार रुपैयाँ फ्लाइओभर निर्माणका लागि सरकारसँग सम्झौता गरेको थियो।
सम्झौता फागुन ०७८ मा गरेको भए पनि कम्पनीले वर्ष दिनको ढिला गरी पुस ०७९ बाट निर्माण थालनी गर्यो। निर्माण सक्नुपर्ने म्याद १२ फागुन ०८० सम्म थियो।
दुई वर्षमा सक्छु भनेर निर्माणको जिम्मा लिएको समानान्तरले वर्ष दिन ढिला गरेर निर्माण सुरु गरेपछि समयसीमाभित्र सक्ने कुनै सम्भावना नै थिएन, सकिएन पनि। १२ फागुन ०८० सम्म निर्माण आधाको हाराहारीमात्र भयो।
चक्रपथअन्तर्गत ग्वार्को चोक व्यस्त चोक हो। कोटेश्वर–सातदोबाटो दुईतर्फी र चक्रपथ वारपार मंगलबजारबाट इमाडोल वा इमाडोलबाट मङ्गलबजारतर्फ सवारी सधान पास हुँदा यहाँ आधाघण्टासम्म जाम हुनेगर्छ।
यही जाम मुक्त गर्न फ्लाइओभर निर्माण थालिएको हो। तर निर्माण थालिएको ३ वर्षसम्म निर्माण कम्पनीले काम सकेको छैन। हाल निर्माण गरेकोलाई पनि भत्काउनु परिरहेको छ।
किन भत्काइँदै छ?
शनिबार स्काभेटर चारतिर घुमेर भत्काइरहेको ग्वार्को चोकको पश्चिम सातदोबाटोतिरको भाग हो। ग्वार्को चोकमा ३५ मिटर लामो पुल बनाइएको छ। पुलमुनिबाट मंगलबजार र इमाडोलतर्फ सवारी सधान वारपार गर्न सक्छन्।
पुलको पश्चिमतिर ११८ मिटर लम्बाइमा वरपर पर्खाल लगाएर बीच (१६.४ मिटर)को भागमा माटो भरिएको थियो। तर प्यानलको पर्खालमा समस्या देखिएपछि फेरि भत्काउनु परेको हो।
मंगलबजारतर्फको पर्खालको एक ठाउँमा समस्या (एउटा प्यानलदेखि अर्को प्यानलबीचको ग्याप धेरै) देखिएपछि फेरि भत्काएर निर्माण गर्न भनिएको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रदीप भण्डारीले जानकारी दिए।
अहिले धमाधम प्यानल झिक्ने र माटो झिक्ने काम भइरहेको छ। पर्खाल कहिलेदेखि भत्काउन थालिएको हो? एकिनरुपमा निर्माण पक्षले बताउन चाहँदैन। सूचना अधिकारी भण्डारीले हप्ता दिन जति भएको अनुमान गरे।
किन भत्काउन थालिएकोसमेत निर्माण कम्पनीले बताउन चाहेन। शनिबार निर्माण क्षेत्रको काम हेरिरहेका साइड इन्जिनियर श्रमणकुमार यादव देशसञ्चारको टीम पुग्दा तर्किएर जवाफ दिन चाहेनन्।
उनले कहिलेदेखि फेरि पर्खाल लगाउने काम हुने भन्नेमा पनि अन्योलता देखाए।
यसअघि पनि देखिएको थियो समस्या
ग्वार्को फ्लाइओभरमा यसपटक मात्र समस्या देखिएको होइन। यसअघि डिजाइन नै फेल खाएको थियो। फ्लाइओभर कस्तो बनाउने सरकारी डिजाइन होइन। निर्माण कम्पनी आफैले बनाएको डिजाइन फेल हुँदा काम निर्माण थालेको चार महिनामै अवरोध सिर्जना भएको थियो।
पुस ०७९ मा फ्लाइओभर निर्माण थालेको कम्पनीले चार महिनामै पुल कस्तो बनाउने भन्नेमा डिजाइन मिलेको थिएन। त्यतिबेला पिलरको डिजाइनमा समस्या देखिएको थियो।
त्यसपछि लामो समय (करिब ५ महिना) काममा अवरोध पुगेको थियो। फेरि डिजाइन बनाएर लगभग ०८० भदौदेखि काम थालनी भएको थियो। त्यसपछि रातदिनमा समेत काम गरेको निर्माण कम्पनीले बताएको थियो।
त्यसैले नै होला पुल निर्माण भने कम्पनीले गरिसकेको छ। अहिले करिब ८० प्रतिशत बढी काम गरेको कम्पनीले दाबी गर्दै आएको छ।
हाल पूरा निर्माण भएको भनेको ३५ मिटर पुल मात्र हो। पुलको कोटेश्वरतर्फको भागमा पर्खाल लगाएर माटो भर्ने काम भइरहेको छ। सातदोबाटोतर्फ फेरि भत्काइरहेको अवस्था छ।
किन पटक–पटक समस्या देखिन्छ? सूचना अधिकारी भण्डारी भन्छन्, ‘यो पहिलो परियोजना हो। नयाँ काम भएर पनि समस्या देखिने गरेको हो।’
उनले आगामी परियोजनाका लागि यस पटकको गल्तीबाट सिकाइ भएर थप सुधार हुने बताए।
समयसीमाभित्र काम सकिने अवस्था छैन
पुल निर्माणको पहिलो म्याद सकिएको ०८० फागुनपछि दुई पटक म्याद थपिएको छ। १२ फागुन ०८० भित्र फ्लाइओभर निर्माण गरिसक्नु पर्ने भए पनि नसकिएपछि असार ०८१ सम्म म्याद थपिएको थियो।
त्यस अवधिमा पनि काम नभएपछि अन्तिम मौकास्वरूप ९ पुस ०८१ सम्म म्याद थप थपिएको भए पनि काम कम्पनीकै अनुसार लगभग २० प्रतिशत काम अझै बाँकी छ।
पुसभन्दा पछि सरकारले म्याद थप गरेको छैन। म्याद थप नगरेपछि कम्पनीले पुसपछि हर्जना (जरिवाना)तिरेर काम गरिरहेको छ।
जरिवानाको मापदण्ड सम्झौता रकमको ०.०५ प्रतिशत हो। यस रुपमा हेर्ने हो भने कम्पनीले दैनिक करिब ८४ हजारको हाराहारीमा जरिवाना तिरेर काम गरेको छ।
आउने चैत मसान्तसम्म काम सक्ने गरी कम्पनीले सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रसँग समय माग गरेको छ।
तर यही गतिमा काम गरेमा चैतसम्म कम्पनीले काम गरिसक्ने अवस्था नदेखिने गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी भण्डारी बताउँछन्।
‘उहाँहरूले आउने चैत मसान्तसम्म समय माग्नुभएको छ। तर यही गतिको कामले चैतसम्म काम सक्ने अवस्था देखिँदैन। वैशाखसम्म लाग्छ कि भन्ने छ’, उनले देशसञ्चारसँग भने।
स्थानीयदेखि सरकारको ध्यानाकर्षण
ग्वार्को फ्लाइओभर निर्माणमा स्थानीयदेखि सरकारसम्मको ध्यानाकर्षण भएकै हो। निर्माणमा ढिलाइ भएको भन्दै ०८० को चैतमा स्थानीयहरूले कम्पनीको ध्यानाकर्षण गराएका थिए।
त्यतिबेला बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले पनि निर्णमा छिटो सक्ने निर्माण कम्पनीलाई आग्रह गरेका थिए। उनले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको र नागरिकले सास्ती खेप्नु परेको बताएउँदै ढिला गरेमा अनसनसम्म बस्ने चेतावनी दिएका थिए।
तर २०८१ सकिन लागिसक्यो फ्लाइओभर निर्माण सम्पन्न होला भन्दै गर्दा भत्काउने काम भइरहेको छ। त्यो पनि गुणस्तरहीन काम भएका कारण।
०८० को जेठ १५ मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि आर्थिक वर्ष २०८०/०८१ मै ग्वार्को फ्लाइओभरको काम सक्ने सरकारको लक्ष्य रहेको बताएका थिए।
तस्बिरहरूः वर्षा शाह/देश सञ्चार।