
धनगढी- कैलालीको गेटा अस्पताल सञ्चालनका लागि कर्मचारी दरबन्दीको स्थायी स्वीकृति नतोकिएका कारण ५० सैयाको सेवा पनि रोकिने सम्भावना बढेको छ ।
गत बर्ष संघीय स्वास्थ्य मन्त्रालयले गेटा अस्पताल सञ्चालनका लागि ५० वेडको अस्थाई स्वीकृति दिएको थियो । तर, अस्पताल सञ्चालनका लागि कर्मचारीको स्थायी दरबन्दीको निर्णय नभएकाले कर्मचारीको तलवसमेत रोकिएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।
उनका अनुसार संघीय स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालनका लागि २४ जनाको दरवन्दी दिएको थियो भने ७२ जना करारमा नियुक्त गरिएका थिए ।
मन्त्रालयले अस्पताल सञ्चालनको औपचारिक स्वीकृति नदिएपछि पुसदेखि करार कर्मचारीको तलव रोकिएको सूचना अधिकारी कार्कीले बताए । केही समयअघि कैलाली आएका बेला संघीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलले गेटा अस्पताल सञ्चालनका लागि स्थायी स्वीकृति प्रदान गर्ने आश्वासन दिएका थिए ।
तर मन्त्री पौडेलको आश्वासन हालसम्म कार्यान्वयन भएको छैन । गेटा अस्पताल सञ्चालनका लागि अस्पतालका निर्देशकसहितको टोली काठमाडौं पुगेको छ ।
सो टोलीले मन्त्रालयमा थप छलफल अघि बढाएकाले छिट्टै स्वीकृति पाइनेमा आशाबादी रहेको सूचना अधिकारी कार्की बताउँछन् । सूचना अधिकारी कार्कीका अनुसार हाल अस्पतालमा दैनिक ५०/६० जनाको हाराहारीमा बिरामीको उपचार भइरहेको छ ।
अस्पातलमा हाडजोर्नी, स्त्रीरोेग लगायतको सामान्य सल्यक्रियासमेत हुने गरेको सूचना अधिकारी कार्कीको भनाइ छ । तर मन्त्रालयले अस्पताल सञ्चालनका लागि कर्मचारीको स्थायी स्वीकृति नदिएपछि भने सञ्चालनमा नै अन्यौल थपिएको सूचना अधिकारी कार्कीले बताए ।
गेटालाई दशरथचन्द मेडिकल विश्वविद्यालय बनाउने गरी सरकारले घोषणा गरे पनि हालसम्म निर्णय गरेको छैन । मेडिकल विश्वविद्यालय सञ्चालनका लागि बनेको ऐनको कार्यविधि पनि विचाराधीन अवस्थामा रहेको छ ।