
मोरङ – उद्घाटन खेलमा पराजित भएको इलाम जिल्लाले विराटनगरमा जारी प्रदेशस्तरीय टी–२० क्रिकेटमा घरेलु टोली मोरङलाई ६ रनले पराजित गरेको छ।
विराटनगरको बैजनाथपुरस्थित गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशालामा बिहीबार भएको पहिलो खेलमा मोरङको टोली पराजित भएको हो।
टस जितेर ब्याटिङ गरेको इलामले २० ओभरमा अलआउट हुँदै १ सय १३ रनको योगफल बनाएको थियो। इलामको लागि ओपनर लभ ताम्राकारले २६ रन बनाए। त्यसैगरि, शिवान्स बजगाईले सर्वाधिक २७ बलमा ३० रन बनाए।
मोरङका लागि अमर अली र मिनस थापाले समान ३ विकेट लिए। निर्धारित लक्ष्य पछ्याउने क्रममा मोरङको टोली २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७ रनमा सीमित भयो। इलामको जितमा कसिलो बलिङ गरेका प्रज्वल खत्रीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। उनलाई क्रिजमा विशाल आचार्यले ४ ओभरमा २३ दिदैं २ विकेट लिएर साथ दिएका थिए।
जित हात पारेको इलामले दुई खेलमा एकमा जित एकमा हार ब्यहोर्दै २ अंक बनाएको छ। अर्कोतर्फ उदयपुरलाई पराजित गरेको मोरङले आजको खेलमा हार व्यहोर्दै २ अंक नै बनाएको छ।