रातो मच्छिन्द्रनाथः जिज्ञासु नानीले सिकाएकाे पाठ

रातो मच्छिन्द्रनाथः जिज्ञासु नानीले सिकाएकाे पाठ
+
-

नीलो फ्रक, रातो फुलबुट्टे रिबन, सोतो मोतीको माला, आँखा झिमिक्क नपारी हेरिरहूँ लाग्ने। सानी नानी, करिब ९–१० वर्षकी हुँदी हुन्। उनी बाबासँग पुल्चोकस्थित दमकल चोकमा बनिरहेको रथ हर्न आएकी थिइन्। मेरो नजर उनै सानी नानीतिरै केन्द्रित रह्यो। बाबाको चोरऔँला समातिरहेकी नानीले सबै कुरा उत्सुकता भावले नियालिरहेकी थिइन्।

एक हुल रथ अगाडि दियो बालेको देखेर उनले पनि आफ्ना बाबालाई दियो बाल्ने जिद्दी कसिन् र बाबुले दुई वटा मोटोको दियो ल्याएर बाल्न सघाइरहे।

काम विशेषले म पनि दमकल चोक रथ निर्माण स्थल पुगेकी थिएँ। केहीले बनिरहेको रथ हेर्दै रथको अगाडिको भागमा पर्ने भैरवको मूर्तिमा पूजा गरिरहेका थिए भने केहीले बत्ती बालेर रथभित्र अवस्थित रातो मच्छिन्द्रनाथसँग प्रार्थना गरिरहेका थिए।

बाटोको एकातिर रथ निर्माणको काम भइरहेको थियो भने अर्कोतिर गाडी गुडिरहेका थिए। गाडीको झ्यालबाट केही यात्रुले दर्शन ढोग गरिरहेका थिए। ती सानी नानीले बत्ती बालेर बनिरहेको रथ परिक्रमा गरिन्। म भने एकटकले उनलाई नै हेरिरहेँ। खै किन हो कुन्नि कहिल्यै नदेखेको नभेटेको भए पनि पुरानै चिनजान भएजसरी नै उनलाई पछ्इरहन मन लाग्यो। बाबाको चोरऔँला समातेर रथ निर्माण स्थलमा छरपष्ट रहेका रथका सामानबारे उनी यो के हो ? त्यो के हो ? भन्ने भावले सोधिरहेकी थिइन्। र, बुबा त्यहाँ देखिएका बेत, डोरी, काठजस्तै त्यहाँ उपयोगी सामानको बारेमा बताउँदै थिए। म पनि मानिसको हुलमुलमा उनीहरूको कुरा सुनिरहेकी थिएँ।

उनीहरूको संवाद सुनेको सायद चाल पाएनन्। उनका बाबुको फोन बज्यो र छोरीले समातिरहेको औँला छाडेर फोन उठाए। उनी फोनमा नेवारी लवजमा गरिरहेको कुरा नबुझे पनि अलिअलि मिसिएको अंग्रेजी र नेपाली सुनेर खुसी लाग्यो। छोरीलाई अब आफ्नै कल्चरबारे पनि बुझाउनुपर्‍यो नि भन्ने भाव बुझेर खुसी लाग्यो। बाबु फोनमा बोलिरहेको बेला ती सानीसँग कुरा गर्न मन लाग्यो।

नानीको फ्रक कस्तो राम्रो, कस्तो सुहाएको। कुराको सुरुवात मैले नै गरेँ। उनी मुस्कुराइन् र आफूले लगाएको फ्रकतिर आँखा डुलाइन्।

‘नानीको नाम के हो?,’ मैले सोधेँ। मेरो अनुहारतिर हेर्दै भनिन्, ‘सेविका श्रेष्ठ।’

उनले तपाईंको नाम? भनेर सोधिन्– नेवारीमा छंगु नाम छु? तर मैले बुझिनँ। उनका बाबाले नानीले तपाईंको नाम सोधिकी भनेपछि बिन्दु हो भनेँ। उनका बाबुले कतिबेला फोनमा कुरा सकेर हाम्रो कुरा सुनिरहेका रहेछन्। पत्तै पाइनँ।

उनका बाबुले सोधे, ‘तपाईं पनि नेवार हो।’ थाहा छैन किन सोधे। तर, मैले हाँसेर मन्टो हल्लाएँ। होइनको भावमा।

उनले आफ्नै कुरा सुरु गरे – ‘हाम्रो बाजे, बुबाले हामी सानै हुँदा जात्रा पर्वबारे यसैगरी रथ बनिरहेको ठाउँमा ल्याएर सिकाउँदै अह्राउँदै बुझाउनुहुन्थ्यो। स्कुले उमेरमा साह्रै रमाइलो गरी जात्रामा संलग्न भइन्थ्यो। प्लस टु गरेपछि विदेश गइयो। तर, जात्रापर्वको बेला साह्रै धेरै याद आउने भएकाले धेरै वर्षपछि नेपाल आएको बेला आफ्ना सन्ततिलाई आफ्नो संस्कार संस्कृतिबारे बुझाउनु, देखाउनु पर्छजस्तो लागेर छोरीलाई जात्राकै अवसर पारेर विदेशबाट नेपाल लिएर आएँ।’

उनी अनवरत आफ्नै सुरमा बोल्छन्, ‘आजभोलि १२ पछि धेरै युवा भविष्य खोजेर बाहिरिने चलन बढ्दो क्रममा छ। नेपालमा हुँदा जात्रा पर्वबारे पढ्ने, सिक्ने अवसर हुन्छ। तर, नेपालबाहिर हुँदा उनीहरू त्यो अवसरबाट वञ्चित हुनुपर्छ। तैपनि, हामीले हिजो सिकेको संस्कार र संस्कृतिबारे बच्चालाई सिकाउनुपर्छ। मेलै पनि त्यसै गरेको हुँ। मैले हाम्रो भाषा र संस्कृतिबारे धेर थोर कति बुझाउन सक्छु तर कोसिसचाहिँ गरिरहन्छु।’ उनका कुरा मैले सुनिरहेँ।

त्यत्तिकैमा मेरो फोनको घण्टी बज्यो। पकेटबाट निकालेर हेरेँ, अफिसको नम्बर देखिपछि घडी पनि सँगै हेरेँ १० बजेर १० मिनेट गइसेको रहेछ। म भने बाबुछोरीसँगको कुरामा समयको ख्यालै भएनछ।

ल, हुन्छ म निस्कन्छु, भेटेर खुसी लाग्यो भनेर ती सानीलाई बिदाइको हात हल्लाएर म निस्किएँ। निस्किँदै गर्दा पछाडि फर्किएर बेला–बेला हेर्न मन लाग्यो उनीहरूलाई उनका बुबा उनलाई रथबारे उनले बुझ्ने तरिकाले सम्झाइरहेका थिए।

उनको जिज्ञासालाई उनका बाबुले झर्काे नमानी सबै बुझाइरहेका थिए। आँखाले देखुन्जेल उनीहरूलाई हेरिरहेकी ममा कति धेरै कुरा मनमा एकैपटक आयो।

ती सानी नानीलाई आफ्ना बुवाले रथबारे सम्झाएजसरी मलाई पनि रथ निर्माणसँगै त्यसको ऐतिहासक, धार्मिक र सांस्कृतिक पक्षको जानकारी लिन मन लाग्यो। मनमा एकपछि अर्को प्रश्न मनमा उब्जिरह्यो। उपत्यकामा भइरहने रथ यात्रा र जात्राको विषयमा स्कुले जीवनमा पढे पनि धेरै कुरा थाहा थिएन। उसो त उपत्यकामा बसेको ८–९ वर्ष भइसकेको छ, रथ यात्रा र जात्रा त नौलो थिएन। तर, त्यसभित्रको रहस्य र यसको ऐतिहासिक महत्व भने थाहा थिएन।

कहीँ–कतै प्रभाव पनि हुनुपर्छ ती नानीको। त्योभन्दा बढी मलाई विश्वकै सबैभन्दा लामो मच्छिन्द्रनाथको जात्रा हो भनेर थाहा पाएपछि थप बुझ्न मन लाग्यो। र, म यस विषयका ज्ञाता तथा सम्बन्धित पक्षसँग कुराकानीमा जुटेँ।

आधाआधीजस्तो बनेको रथ निर्माणमा सबै जुटिरहेका थिए। १४–१५ वर्षका बालकदेखि ८०–८२ उमेर समूहका सबै काममा खटिरहेका थिए। त्यहाँ एउटा घरको ठूलो परिवार संयुक्त रुपमा सँगै बसिरहेको र रथको कामका लागि जुटिरहेजस्तो देखिन्थ्यो। रथ निर्माणमा पुस्ता हस्तान्तरण हुन्छ। बाजे, बाबु, छोरा, नाति एकै घरका पनि ३–४ पुस्तादेखि काम गरिरहका हुन्छन्।

उपत्यकाको सबैभन्दा लामो जात्रा हरेक वैशाख शुक्ल प्रतिपदादेखि सुरु भई असार शुक्ल चौथीमा राष्ट्रप्रमुखबाट भोटो देखाएर विधिवत् सम्पन्न हुने गर्छ। जसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ। यो जात्रा किंवदन्तीमा आधारित छ। ठ्याक्कै यकिन गर्न सक्ने मिति नभए पनि १६ सय वर्ष पुरानो सांस्कृतिक धरोहरको रुपमा हेर्ने गरिन्छ।

गुठी संस्थान ललितपुरका शाखाप्रमुखले सुरुमा नेवारहरूको जात्राका रुपमा हेरिने भए पनि पछिल्लो समय अन्य जातजातिका तथा सम्प्रदायका मानिसले उत्सवका रुपमा मनाइरहेका छन्। ३२ लक्षणले युक्त मच्छिन्द्रनाथको रथयात्राको लागि ३२ फिट अग्लो पाँच तले रथ निर्माण हुन्छ। रथ निर्माण सुरु गर्नुअघि नै चैत पुर्णिमाका दिन विधिवत् पूजा गरेपछि भोलिपल्टबाट रथ निर्माण गर्न थालिन्छ।

रथ तयार भएपछि शुभसाइत हेरेर मच्छिन्द्रनाथको मूर्ति स्थापना गरिन्छ, रथको माथिल्लो टुप्पोमा चाँगुनारायणको मूर्ति राखिन्छ। त्यसमाथि बाँस राखेर मच्छिन्द्रनाथको मूर्ति पछिल्लो खटमा स्थापना गरी सुनको जलप लगाइन्छ। तर, रथ तयार गर्न भिन्नाभिन्नै समूह जुट्छन्। विशेष गरी पाँच वटा समूहमा विभाजन गरी रथ निर्माण सुरु हुन्छ। पाँच समूहमध्ये बाहारी जसले विशेष गरी काठको काम गर्छन्। उनीहरूको काम तला थप्ने र चक्का राख्ने हो। उनीहरू २४ जनाको संख्यामा हुन्छन्। त्यसैगरी, ञवालहरूले डोरी र बेत कस्ने काम गर्छन्। उनीहरूको समूहमा १२ जना रहन्छन्। बोसी भन्ने अर्को समूह हुन्छ जसले रथका लागि चाहिने काठ जुटाइदिन्छ। घकुले रथलाई दिशानिर्देश गर्नेसँगै रथ तान्ने काम गर्छन्। उनीहरूको समूहमा ८ जना रहन्छन्। र चित्रकार समूहले रथको श्रृंगार गर्छ, यसमा पनि ८ जनाको समूह हुन्छ।

यसरी जात वा सम्प्रदायका आधारमा कामको विभाजन भिन्नभिन्न जातका आधारमा निश्चित कामको प्रत्यायोजन गरिँदै आएको पनि चित्रकारले बाताए। रथ निर्माण सकिएपछि २२ गते रथमा देवतालाई विराजमान गराउने चलन छ। त्यो दिनबाट पानेजु (पुजारी) आएर बस्छन्। ३१ जना पानेजु एक देवता मच्छिन्द्रनाथ गरी कुल ३२ जना हुन्छन्।

गुठी संस्थान शाखा कार्यालयका प्रमुख जितेन्द्र चित्रकार भन्छन्, ‘यस वर्ष रथ निर्माण गर्न ९० लाख रुपैयाँ हाराहारीमा खर्च छुट्याइएको छ।’

ज्यापु समाजमा ४० वटा टोल रहेको छ। रथ दमकल चोकबाट गाबाल, गाबालबाट सुन्धरा र सुन्धाराबाट लगनखेल र जाउलाखेल लगिन्छ। लगनखेलमा पुगेपछि रथको माथिल्लो भागबाट नरिवल खसाउने चलन छ। त्यो नरिवल जसले समात्न सक्छ उसले छोरा पाउँछ भन्ने जनविश्वास छ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वाङ भन्छन्,‘जात्रा भनेको जनता हो र जनता भनेको देश हो। अनि यो भोटो जात्रा सत्य बोल्ने र सत्य कुराको प्रमाण दिनेलाई शुरु गरिएको हो। मच्छिन्द्र भनेको मत्स्य अर्थात् माछा हो। पूर्वीय दर्शनले माछालाई देवताको रुपमा पुज्ने गर्छ।

मत्स्य कूर्म वराहश्च, नरसिंहश्च वामनः।
रामो रामश्च रामश्च, कृष्णः कल्कि तदैवच।।

भगवान् विष्णुले प्रथम अवतार मत्स्य, द्वितीय कच्छप अर्थात् कछुवा, तृतीय वराह, चतुर्थ नृसिंह, पञ्चम वामन, षष्ठ राम, सप्तम बलराम, अष्टम कृष्ण, नवम परशुराम, दशम कल्की अवतार धारण गरेको किंवदन्ती छ।

मत्स्यः भगवानले प्रलयको समुद्र बिहार गर्दै सत्यव्रतलाई ज्ञान र भक्तिका उपदेश दिए। हयग्रिव नाम गरेको राक्षसले वेद चोरेर समुद्रमा लुकाएको थियो भगवान मत्स्यले हयग्रिवलाई मारेर वेदको पनि उद्धार गर्नुभएको थियो।

कुर्मः मन्दराचल पर्वत समुद्रको गहिराइमा डुब्न लाग्यो। यो देखेर देव/दानवहरू फेरि विष्णुको शरण लिन पुगे। भगवान विष्णुले पनि कछुवाको रूप धारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्याए।

वराहः पृथ्वीलाई समुद्रमा डुबाउने ‘हिरण्याक्ष’ नाम गरेको राक्षसको बध गरेका थिए। जलमा डुबेको पृथ्वीलाई पूर्ववत् अवस्थामा उद्धार गर्नुभएको थियो।

नरसिंहः दैत्यराज हिरण्यकशेपुको बध गर्न र भक्त प्रह्लादको उद्धार गर्न विष्णु भगवान्ले नरसिंहावतार धारण गर्नुपरेको थियो। आधा शरीर सिंहको र आधा शरीर मान्छेको थियो।

वामनः भगवान् विष्णुले अदितीको कोखबाट वामन अवतारको रूपमा जन्म लिए। भगवान वामन ८ वर्षको भएपछि ब्रह्माजीले व्रतबन्ध गरिदिए। व्रतबन्धको देशान्तरमा जाने क्रममा भगवान् वामन बलि राजाकहाँ गए। वामनलाई देखेर राजा बलिले आदरपूर्वक आफूकहाँ आएको कारण सोधे। तब वामनले बलिलाई आफूले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यै वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाइसकेपछि वामनले हरि भक्ति गरेर बस्नका लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने, ‘मसँग यति सानो चिज माग्नुभयो तैपनि दिन्छु भनेर संकल्प गर्न लागे तब शुक्राचार्यले यी वामन सामान्य मानिस नभएर भगवान् विष्णु भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर, बलिले मानेनन् संकल्प गरिसकेपछि राजा बलिले वामनलाई जमिन नाप्नÞ लगाए। तब वामनले आफ्नो सानो रूपलाई बढाएर एक पाइला पृथ्वीमा र अर्को पाइला स्वर्गमा राखे। अब अर्को पाइला राख्ने ठाउँ नभएका कारण राजा बलि चिन्तित भए। पछि प्रह्लादलाई भगवानको लीला थाहा पाएर प्रार्थना गरे। तब वामनले राजा बलिलाई एक पटक स्वर्गको राजा बनाउने आश्वासन दिएर सुतलमा पठाए। आफू पनि राजा बलिसँग छलकपट गरेको पश्चात्ताप मेटाउन जीवनभर राजा बलिको द्वारपाले भएर बस्ने वाचा दिए। बलिले दानको संकल्प गरिसकेका कारण वामनको एक पाइला आफ्नो शिरमा राखेर दानको विधि पूरा गरे। त्यसपछि वामनले इन्द्रलाई स्वर्ग दिलाएर राजा बलिका साथ सुतलमा गए।

परशुरामः परशुरामको मुख्य हतियार परशु (बन्चरो) भएकाले उनको नाम परशुराम भएको मानिन्छ। परशुरामका पिताको नाम ऋषि जमदग्नि र माताको नाम रेणुका थियो। परशुराम एक ऋषिपुत्र भए पनि उनमा क्षत्रीय गुण थियो। परशुरामले २१ पटक पृथ्वीका क्षत्रियको संहार गरेका थिए।

श्रीरामः अयोध्याका राजा दशरथ र रानी कौशल्याका जेठो पुत्र थिए। रामकी पत्नीको नाम सीता थियो (जसलाई लक्ष्मीको अवतार मानिन्छ) र रामका तीन भाइ थिएः लक्ष्मण, भरत र शत्रुघ्न। रामले राक्षस जातिको राजा रावणको बध गरे।

बलरामः बलराम भगवान् श्रीकृष्ण दाजु तथा वसुदेव र रोहिणीका पुत्र हुन्। देवकीको सातौं गर्भलाई रोहिणीको गर्भमा सारेको हुनाले उनलाई संकर्षण पनि भनिन्छ। उनलाई शेषावतार पनि भनिन्छ तसर्थ उनी अत्यधिक क्रोधी र बलवान पनि थिए।

कृष्णः श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छाडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ। उनले महाभारतको युद्धको समयमा अर्जुनलाई दिएको गीता उपदेशलाई विश्वको उत्कृष्ट उत्प्रेरणाको शिक्षा मानिन्छ।
भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन्। उनी विभिन्न ठाउँमा पुगी दुःख निवारणसम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

कल्कीः कलि युग सकिनुभन्दा ८ सय वर्षअगाडि हुन्छ। जब कलियुगमा मानिसले धर्मको अनुसरण गर्न बन्द गरिदिन्छ तब यो अवतार हुन्छ भन्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ।

त्यस्तै, संस्कृतिविद् ग्वाङका अनुसार चाल्र्स डार्बिनले जीवनको उत्पत्तिबारे द अ‍ेतरिजिन अफ स्पेसिसमा भनेका थिए, सबै जीव एक साझा पुर्वजबाट विकास भएका छन् र जीवनका प्रारम्भिक रुप साना, एक कोषिका भएका प्राणी थिए। जेली फिसहरू यी प्रारम्भिक समुद्री जीवनका प्रकारमध्ये एक हो भनेको थिए।

सन् १८५९ नोभेम्बर २४ मा डार्विनद्वारा लेखिएको यो पुस्तक प्रकाशनमा आएको थियो। संस्कृतिविद् ग्वाङ पनि भगवान्को पहिलो अवतार नै मत्य भएको र मच्छिन्द्रनाथको मूर्ति पनि माछाको आकारको बनाइएको धार्मिक तथा पौराणिक इतिहास रहेको बताउँछन्।

किंवदन्ती अनुसार, रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा लिने गरेको पाइन्छ। अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख शुक्ल प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ।

जात्राका लागि अपरिहार्य बेतको बन्दोबस्त कसरी गरिन्छ ?


पहिले–पहिले बेत पनि नेपालमै पाइनेरहेछ। बेत बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याउने गरिन्थ्यो। तर सरकारले बर्दिया राष्ट्रिय निकुञ्जमा बन्देज लगाएपछि बेतका लागि भारतका विभिन्न ठाउँमा पुग्नुपरेको दुःख बेतका ठेकेदार परशुराम खतिवडाले बताएका छन्।

हिमाञ्चल प्रदेशबाट काठमाडौँसम्मको ढुवानी दूरीको हिसाबले पनि उत्तिकै चुनौतीपूर्ण छ। त्यसमाथि पनि डकुमेन्टसनको कारणले गर्दा भन्सारमा साह्रै असहज हुन्छ। गुठी संस्थान या सरकारबाट बारम्बार सहयोग र समन्वयनको अपेक्षा रहँदा सधैँ उपेक्षित बन्नुपरेको उनको गुनासो छ।

‘हामी तस्कर होइनौँ, रथयात्रा हाम्रो मात्र नभएर उपत्यकाको गौरव पनि जोडिएको छ। तर सरकारले यस्ता काममा सहयोग गर्दैन’, उनले भने।

पहिले रथमा बेतको मात्र प्रयोग गरिन्थ्यो। अहिले डोरीको पनि प्रयोग गरिएको स्थानीय बताउँछन्।

कसरी सुरु हुन्छ जात्रा?


रथ निर्माणका लागि सुरुमै तिथिमिति हेर्न अनि मिलाउने चलन छ। पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार मच्छिन्द्रनाथलाई स्नान गराएपछि, उहाँ मरेको विश्वास गरी मलामीजस्तै बाजा बजाएर सबै सुतिसकेपछि कसैले नदेख्ने तरिकाले मन्दिरमा ल्याइन्छ। संघका अध्यक्ष शाक्य भन्छन् पहिले मरेको विश्वासमा ल्याइएको मच्छिन्द्रनाथलाई दश कर्म गरेपछि पुनर्जन्म भएको विश्वासमा रथमा ल्याएर विराजमान गराउने काम गरिन्छ।

मच्छिन्द्रनाथ बहुरुपी हुनुहुन्छ, महिलाको रुपमा गुफा पनि राखिन्छ भने पुरुषको जसरी व्रतबन्ध पनि गरिन्छ। रथ निर्माणमा सबै पुरुष हुने चलन छ। जात्रा देखाउने क्रममा एक जना महिला जसले पूर्वबाट तामाको भाँडामा जल ल्याउँछिन्, उनलाई मलेनी भनिन्छ। त्यस्तै, याकमिसा अर्थात् एकल महिलाको पूजा गर्ने चलन छ। एकल महिलालाई पनि एक्लो महसुस नहोस् भगवान् र हामी तपाईंको साथमा छौँ भन्ने महसुस दिलाउन पनि याकमिसाको पूजा गर्ने गरिन्छ।

महिलालाई रथ चढ्न किन प्रतिबन्ध लगाइन्छ ?


लामो रथ यात्राका क्रममा महिलाको मासिक स्रावको निश्चित नहुने हुनाले परापूर्वकालदेखि नै धार्मिक अनि सांस्कृतिक रुपमा महिलाले रथ नचढ्ने गरेको किम्बदन्ती पाइन्छ।

ऐतिहासिक महत्वः


यो जात्राको सुरुवात करिब १६०० वर्ष पुरानो इतिहाससँग जोडिएको छ। मल्लकालदेखि नै यो जात्रा राजकीय स्तरमा आयोजना हुँदै आएको हो, जसले राजा र जनताको सम्बन्ध मजबुत बनाएको मानिन्छ। जात्रासँगै पाटनको सामाजिक संरचना, आर्थिक गतिविधि र साँस्कृतिक जीवनशैलीलाई समेत दिशा दिने कार्य भएको छ।

धार्मिक महत्वः


मच्छिन्द्रनाथलाई बौद्ध धर्ममा अवलोकितेश्वर (करुणामय) तथा हिन्दू धर्ममा मच्छिन्द्रनाथको रूपमा पूजा गरिन्छ। उनलाई वर्षा, कृषि उत्पादन, समृद्धि र शान्तिका देवता मानिन्छ। जात्रा मूलतः वर्षाका लागि प्रार्थनास्वरूप सुरु गरिएको थियो — गोरखनाथ र नागहरूको कथा यसमा केन्द्रमा रहेको छ।

जात्राको माध्यमबाट तान्त्रिक परम्परा, योग साधना र गुरू–शिष्य सम्बन्धजस्ता धार्मिक अवधारणालाई सम्मान दिइन्छ।

सांस्कृतिक महत्वः


जात्राले नेवार समुदायको संस्कृति, परम्परा र हस्तकलाको संरक्षण र प्रवद्र्धन गर्दछ। रथ तान्ने प्रक्रिया, भोटो देखाउने चलन, महिलाले रथ तान्ने दिन (याकः मिसाया भुज्या) आदिले सामुदायिक सहभागिता र लैंगिक समानतालाई उजागर गर्छ।

जात्राले सांगीतिक परम्परा (जस्तै धिमे बाजा), लोकनृत्य, नेवार व्यञ्जनहरू र लोककथालाई पुनर्जीवित गराउँछ। बारा बर्से जात्राको विशिष्टता—बुङमतीबाट सुरु भई पाटनसम्मको यात्रा—नेपाली सांस्कृतिक एकताको जीवित प्रमाण हो।

निष्कर्षः


रातो मच्छिन्द्रनाथ जात्रा केवल एउटा धार्मिक अनुष्ठान होइन, यो नेपाली समाजको ऐतिहासिक स्मृति, धार्मिक आस्था र सांस्कृतिक विविधताको जगेर्ना गर्ने अमूल्य सम्पदा हो। यो जात्राले हामीलाई मौसम, देवत्व, समुदाय र सहकार्यप्रतिको सम्मान गर्न सिकाउँछ।

उपत्यकाको ऐतिहासिक नगर ललितपुरमा हरेक वर्ष परम्परागत रूपमा मनाइने रातो मच्छिन्द्रनाथ जात्रा केवल रथयात्रा मात्र होइन, नेपाली समाजको आस्था, परम्परा र पहिचानको सजीव प्रतीक हो। यो जात्राले सदियौँ पुरानो इतिहास, बौद्ध र हिन्दू दर्शनको समन्वय र समुदायको ऐक्यबद्धतालाई एकैसाथ समेट्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?