
प्युठान – प्युठानको गौमुखी क्षेत्रमा २१७ प्रजातीका चरा भेटिएका छन्। गौमुखी गाउँपालिकामा वि.सं. २०८१ साल असोज र ०८२ वैशाख महिनामा चरा विज्ञहरुले वैज्ञानिक पद्धत्तिबाट गरेको अध्ययनले २१७ प्रजातिका ४ हजार ५ सय ३८ चरा अभिलेख गरेको छ।
गौमुखी गाउँपालिकाको सहयोग र हिमाली अनुसन्धान केन्द्रको समन्वयमा गरिएको अध्ययन प्रतिवेदन आज पालिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो।
०८१ असोजको सर्वेक्षणमा मंगोलियाबाट जाडोयाममा बसाइँ सरी आउने विश्वकै दुर्लभ गोमायु चिल र नेपालको आकाश हुँदै दक्षिण जाने कर्याङ–कुरुङ सारस पनि अभिलेख भएको छ।
०८२ सालको वैशाखमा ग्रीष्मकालीन आगन्तुक चराहरु आठ प्रजातिका कोइली, दुई प्रजातिका मुरलीचरा, स्वर्गचरी, सुनचरी, कस्तुरा, चाँचरजस्ता चरा भेटिएका छन्। ती चराहरु नेपालमा बच्चा कोरल्न बसाइँ सरी आउँछन्।
अध्ययनको क्रममा भेटिएका २१७ प्रजातिका चराहरुमध्ये ९९ प्रजातिका चरा संरक्षण महत्वका भएकोले गौमुखी क्षेत्र चराको लागि अत्यन्तै महतत्वपूर्ण क्षेत्र भएको पुष्टि गरेको अनुसन्धानकर्ता चरा विज्ञ कृष्ण भुसालले बताए। यस क्षेत्रमा नेपालका ९ प्रजातिका संरक्षित चरामध्ये दुई प्रजाति चिर कालिज र मुनाल पाइन्छन्।
त्यसैगरी विश्वमै दुर्लभ पाँच प्रजाति डङ्गर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, गोमायु महाचिल र चिर कालिज पनि अभिलेख गरिएको भुसालले जानकारी दिए। राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा रहेका १७ प्रजाति, ४ प्रजाति सीमित क्षेत्रमा मात्र पाइने, ६९ प्रजाति खास प्रकारको भूगोलमा मात्र पाइने र ३१ प्रजाति साइटिस सूचीमा सूचीकृत चराहरु यस क्षेत्रमा भेटिनुले गौमुखी क्षेत्रको गरिमा झन् बढेको छ।
यस क्षेत्रमा लोपोन्मुख हिमाली गिद्ध र हाडफोर गिद्धको गुँड भएको पुष्टि भएको छ। चराहरू मात्र होइन, यस अध्ययनले ८ प्रजातिका पुतली, ५ प्रजातिका माछा, ४ प्रजातिका उभयचर, ८ प्रजातिका सरिसृप र १८ प्रजातिका स्तनधारी जनावरहरूको उपस्थिति अभिलेख गरेको छ।
यस अध्ययन कार्यले ग्रामिण पर्यटन, वैज्ञानिक अनुसन्धान, वातावरण संरक्षण र पर्यापर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायको जीविकोपार्जन तथा दिगो विकासका लागि पनि सम्भावनाको ढोका खोलेको पालिकाका उपाध्यक्ष्य महावीर रानाले बताए।
गौमुखी गाउँपालिका जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको समन्वय भएको एउटा अद्वितीय गन्तव्य हो। गौमुखी पुग्ने जो कोहीले पनि यहाँबाट प्रेरणा, साहसिकता र प्रकृतिसँगको गहिरो सम्बन्ध प्राप्त गर्न सक्छ। गौमुखी क्षेत्र प्रकृति, संस्कृति र पर्यटनको संगम खोज्ने जो–कोहीका लागि एक अनिवार्य भ्रमणस्थल हो।
गौमुखीमा स्वच्छ हावा लिँदै, मनोरम दृश्यावोलकन गर्दै, चराको चिरबिर आवाज सुन्दै, उकाली ओराली हिँड्नको लागि ‘हाइकिङ’ तथा ‘ट्रेकिङ्ग’को प्रचुर सम्भावना छ। प्रकृतिमात्र होइन त्यहाँको भूगोल, समाज, संस्कृति र जनजीवन बुझ्न तथा सिक्न पनि यो ठाउँ एक उपयुक्त गन्तव्य बन्न सक्छ।