काठमाडौँ – एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अंगिकार गरेको जनताको बहुदलीय जनवाद (बजब)माथि आक्रमण गरेको दाबी गरेको छन्।
बिहीबार मदन भण्डारीको ७५औँ जन्म जयन्ती मनाउनका लागि गठित समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ओलीप्रति कटाक्ष गरेका हुन्। ओलीले पूर्वउपाध्यक्ष विद्यादेवि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा आउन निषेध गर्न सदस्यता नै निष्क्रिय बनाएपछि उक्त समूहले सम्पर्क कार्यालय स्थापना गरेको हो।
एमालेमा समानान्तर गतिविधि गर्न स्थापना गरिएको सम्पर्क कार्यालय उद्घाटनमा पोखरेलले जबजको सान्र्दभिकता नसकिएको बताए।
अध्यक्ष ओलीले पार्टीलाई जबजको मान्यता अनुसार अघि नबढाएको तर त्यसकै टोपी लगाएर हिँडिरहेको पोखरेलको दाबी थियो। भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने पक्षमा उभिएका पाखरेलले जबजको टोपी लगाउनेहरुबाटै विचारमाथि आक्रमण भएको भन्दै आक्रोश पोखरेका हुन्।
ओलीप्रति लक्षित गर्दै उनले भने, ‘कहिलेकाहीँ विचारकै टोपी लाउनेहरुले विचारलाई क्षतविक्षत बनाइरहेका हुन्छन्। यो चिज बुझ्नुपर्ने आवश्यकता छ। त्यसकारणले टोपी लाएर प्रश्न बोल्नेहरु मात्रै विचारका संवाहक हुन्छन् भन्ने ठान्ने भूल गर्नु हुँदैन। यस्तो अवस्थामा विचारको रक्षा गर्नुपर्ने जरुरी छ।’
गत असार १४ गते मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले जबज मण्डारीले मात्रै प्रतिवादन गरेको सिद्धान्त नभएको जिकिर गरेका थिए। विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किने र आफूलाई मदनको उत्तराधीकारीका रुपमा स्थापित गर्न खोजेपछि उक्त दिन ओलीले जबज स्थपनामा भण्डारीको मात्रै भूमिका नहरेको जिकिर गरेका थिए।
त्यसप्रति जवाफ दिँदै पोखरेलले भने, ‘विचार जननेता मदन भण्डारीले अगाडि सार्नुभयो, तर उहाँमाथि चौतर्फी हमला भएको त्यो क्षण पनि म सम्झन्छु। वास्तवमा त्यसबेला त्यो विचारलाई स्थापित गर्नको लागि प्रारम्भिक दिनहरुमा चुनौतीको सामना गर्नुपरेको थियो। पछिल्लो समयमा त्यस्तै किसिमले यो विचारमाथि अनेक ढंगले हमलाहरु भए। पार्टी भित्रैबाट हमला भए। अनेक ढंगले त्यसमाथि कटाक्ष गर्ने कामहरु भयो। यसमा वास्तवमा यो अनेक दृष्टान्तहरु थिए, आफूलाई बडो जानकार भन्ने नेताहरुले समेत पनि त्यसमा कटाक्ष गर्नुभयो।’
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एमालेका पोखरेलसहित उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे पनि सहभागी थिए। उक्त कार्यक्रमबाट नेताहरुले भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन रोक्ने ओलीको कदमविरुद्ध लाग्ने उद्घोष गरेका छन्। घुमाउरो ढंगले पार्टीमा ओलीको एकाधिकार तोड्ने प्रतिबद्धता जनाउँदै पोखरेलले आउन सक्ने चुनौति सामना गर्ने बताए।
‘चुनौती त सधैँ आउँछन्। ती सिर्जना भइरहन्छन्, उत्पन्न भइरहन्छन्। तर, चुनौतीको सामना गर्ने सामथ्र्य आर्जन गरेर अगाडि बढ्नुको अर्को कुनै विकल्प छैन। त्यसकारणले म यहाँहरू समक्ष, यो फाउन्डेसनका साथीहरू, अध्यक्षज्यू लगायत फाउन्डेसनका तमाम साथीहरूलाई भन्न चाहन्छु, यो आयोजक कमिटीका साथीहरूलाई भन्न चाहन्छु, एमालेको तर्फबाट भन्न चाहन्छु, चुनौतीहरू आए, अप्ठ्याराहरू आए, अपजसहरू आए, अपगालहरू आए भनेर अलिकति पनि मनोबल कमजोर बनाउनु हुँदैन,
पोखरेलले अगाडि भने, ‘यो अहिलेको आवश्यकता हो। यस हिसाबले हामीहरू अगाडि बढ्नुपर्छ र यो महत्त्वपूर्ण काममा यो कार्यालयले संयोजनकारी भूमिका खेलोस्।’
उनले जबज कुनै चटक नभएको समेत जिकिर गरे।
कार्यक्रममा विद्या भण्डारीले पनि एमाले र सरकार जबजका मूल्यमान्यता अनुसार नचलेको दाबी गरेकी थिइन्।
यस्तो छ पोखरेलले कार्यक्रममा व्यक्त गरेको धारणाः
पार्टीको आम पंक्तिमा पुर्याउनको लागि वास्तवमा भूमिका खेलेको छ। त्यसकारणले यो मदन भण्डारी फाउण्डेशन त्यो उद्देश्य राखेर स्थापना गरिएको हो। म सम्झन्छु, नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओली जुनबेला वास्तवमा एउटा विचारको प्रखरताको झण्डा बोकेर अगाडि बढिरहनुभएको प्रारम्भ गर्नुभएको थियो। त्यसबेलादेखि नै यो मदन भण्डारी फाउण्डेशन महत्वपूर्ण ढंगले सम्बन्धित हुँदै आयो, जोडिँदै आयो र उहाँको सानिध्यता पाएर वास्तवमा यो फाउण्डेशनले महत्वपूर्ण भूमिका पनि खेल्दै आयो। म आज ती कुराहरु सम्झन चाहन्छु।
र त्यो फाउण्डेशनले अहिले यही सिलसिलामा जननेता मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउने उद्देश्य राखेर एउटा आयोजक कमिटी निर्माण गरेको छ। त्यो आयोजक कमिटीले आफ्ना कामहरुलाई व्यवस्थित बनाओस् भन्ने उद्देश्य राखेर यो कार्यालयको स्थापना गरेको हो। म फेरि पनि आग्रह गर्न चाहन्छु, यो कार्यालयले आफूलाई थप व्यवस्थित ढंगले सञ्चालन गरोस् र उद्देश्यअनुरूप काम सफलता, काममा सफलता प्राप्त गरोस्, हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
हामीले जननेता मदन भण्डारी र उहाँले प्रतिपादन गर्नुभएको विचार, जनताको बहुदलीय जनवादको बारेमा कुरा गरिरहँदा, आजको यो महत्वपूर्ण अवसरमा म एउटा कुरा उल्लेख गर्न चाहन्छु। त्यो के भने यो विचार शान्त तलाउमा ढुङ्गा चलाएजस्तो सललल अगाडि बढेको होइन। यो विचार प्रतिकुलताहरुसित जुधेर, अप्ठ्याराहरुसित जुधेर, चुनौतीहरुसित जुधेर यो विचार अगाडि बढेको हो। कतिपयलाई लाग्न सक्छ जनताको बहुदलीय जनवाद वास्तवमा शान्त तलाउमा ढुङ्गा चलाए जस्तो सललल बगेको, बग्दै आएको हो कि भन्ने लाग्न सक्छ। तर म भन्न चाहन्छु, यो आँधी तुफानसित जुध्दै, ती प्रतिकुलता सित जुध्दै, ती प्रतिकुलतालाई पराजित गर्दै वास्तवमा यो अगाडि आएको विचार, स्थापित भएको विचार हो, जसमा जननेता मदन भण्डारीले अगुवाइ गर्नुभयो, भूमिका खेल्नुभयो।
यो चिज कुरा गरिरहँदा म सम्झन्छु, हिजो कुनैबेला यसको प्रारम्भ हुँदा, यहाँ उपस्थित कतिपय साथीहरुलाई थाहा होला, कतिपय साथीहरुले मेलो नपाउनुभएको हुनसक्छ। तर म आग्रह गर्न चाहन्छु। त्यसबेला त्यो विचारको सुदृढीकरण भइरहँदा, त्यो विचारलाई स्थापित गरिरहँदा, त्यसका प्रारम्भिक दिनहरुमा त्यो विचारको बारेमा अनेक ढंगले प्रश्नहरु उठे, उठाइए, कटाक्ष गरिए। वास्तवमा यो सुदृढीकरण ठीक होइन, यो दक्षिणपन्थी अवसरवादी विचार हो, यो दक्षिणपन्थी अवसरवादी हावा लागेको विचार हो भनेर आरोपित गर्ने कामहरु भए। त्यसबेला जुध्नु परेको थियो त्यो विचार, त्यस्ता मान्यताहरुको विरुद्धमा जुध्नु परेको थियो र जनताको बहुदलीय जनवादलाई स्थापित गर्नु परेको थियो।
विचार जननेता मदन भण्डारीले अगाडि सार्नुभयो, तर उहाँमाथि चौतर्फी हमला भएको त्यो क्षण पनि म सम्झन्छु। वास्तवमा त्यसबेला त्यो विचारलाई स्थापित गर्नको लागि प्रारम्भिक दिनहरुमा चुनौतीको सामना गर्नुपरेको थियो। पछिल्लो समयमा त्यस्तै किसिमले यो विचारमाथि । अनेक ढंगले हमलाहरु भए। पार्टी भित्रैबाट हमला भए। अनेक ढंगले त्यसमाथि कटाक्ष गर्ने कामहरु भयो। यसमा वास्तवमा यो अनेक दृष्टान्तहरु थिए, आफूलाई बडो जानकार भन्ने नेताहरुले समेत पनि त्यसमा कटाक्ष गर्नुभयो। त्यसको पनि प्रतिवाद गर्दै यो विचार अगाडि बढ्यो।
अहिले कतिपयलाई लागेको हुनसक्छ जनताको बहुदलीय जनवाद हिजो सान्दर्भिक थियो, हिजो।।। को एउटा भूमिका रह्यो होला हिजो तर आज त्यो सान्दर्भिक नहुनसक्छ भन्ने कोणबाट कुराहरु उठिरहेका हुनसक्छन्। यो जनताको बहुदलीय जनवाद कतिबेला लागेको हुनसक्छ, यो वास्तवमा यसको सुदृढीकरण मदन भण्डारीले गर्नुभएको हो कि होइन भन्ने कुराहरु लागेको हुनसक्छ। तर म तपाईहरु समक्ष भन्न चाहन्छु, यो विचारको सुदृढीकरण जननेता मदन भण्डारीले समग्र सन्दर्भलाई ख्याल गर्दै गर्नुभएको हो।
उहाँले अगाडि सार्नुभएको छ, नेपालको कम्युनिस्ट आन्दोलनका आफ्ना अनुभवहरुको जगमा यो विचार उठेको हो, उभिएको हो। नेपालको कम्युनिस्ट आन्दोलनको आफ्नो ऐतिहासिक जगमा यो विचार प्रस्फुटित हुँदै अगाडि बढेको हो। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरुको जगमा यो विचार स्थापित भएको हो। र दर्शन र सिद्धान्तले निकालेका निष्कर्षको जगमा यो विचार अगाडि आएको हो भनेर उहाँले ती चिजहरुलाई अगाडि ल्याउनुभयो। म यहाँहरु समक्ष के भन्न चाहन्छु भने यो विचार कुनै तत्कालको लागि एउटा मौसमी हिसाबले ल्याइएको, कुनै चटकी हिसाबले ल्याइएको मात्रै कुरो होइन। यसको एउटा गहन ऐतिहासिक पृष्ठभूमि छ। त्यो पृष्ठभूमि मैले अघि भने, नेपालकै कम्युनिस्ट आन्दोलनको इतिहासको जगमा यो खडा भएको हो। नेपालको कम्युनिस्ट आन्दोलनको जगमा, नेपालको कम्युनिस्ट आन्दोलनका अग्रजहरुले प्रारम्भ गरेका कतिपय सकारात्मक कुराहरुको जगमा यो विचार अगाडि बढेर आएको हो।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट प्राप्त भएका नकारात्मक अनुभवहरुको जगमा यो विचार अगाडि आएको हो। र यो सँगसँगै दर्शन र सिद्धान्तले यसलाई आधार दिएको छ। त्यसकारणले यो विचार त्यतिकै मौसमी हिसाबले कसैलाई लाग्यो, सुत्रबद्ध गरियो भन्ने हिसाबले मात्रै बुझ्नु हुँदैन।
मैले यो प्रसंग किन भनेको हो भने साथीहरु, आज पनि प्रश्नहरु उठ्न सक्छन् यो विचारको विरुद्धमा यो विचारलाई समर्थन गरिरहेको आवाजमा यो विचारलाई क्षतिग्रस्त बनाउने हिसाबले कुराहरु उठ्न सक्छन्। त्यसकारणले यो कार्यालय, यो मदन जयन्ती समारोह समितिले गर्ने गतिविधिहरुमा यो प्रसंगलाई हेक्का राख्नुपर्छ भन्ने कुरा म आग्रह गर्न चाहन्छु।
यदि हामीले यो चिजलाई ख्याल गरिएन भने कहिलेकाहीँ विचारकै टोपी लाउनेहरुले विचारलाई क्षतविक्षत बनाइरहेका हुन्छन्। यो चिज बुझ्नुपर्ने आवश्यकता छ। त्यसकारणले टोपी लाएर प्रश्न बोल्नेहरु मात्रै विचारका संवाहक हुन्छन् भन्ने ठान्ने भूल गर्नु हुँदैन। यस्तो अवस्थामा विचारको रक्षा गर्नुपर्ने जरुरी छ।
त्यसको लागि यो, यो कुन जगमा उभिएको छ, कुन पृष्ठभूमिमा उभिएको हो र यसका आधारहरु कति मजबुत छन् भन्ने कुरा बुझ्नुपर्ने आवश्यकता छ। र यो मदन जयन्ती मनाइरहँदा, ७५औं मदन जयन्ती मनाइरहँदा यो समारोह समितिले वास्तवमा अनेक ढंगले यसलाई पुष्टि गर्ने हिसाबले विविध कार्यक्रमहरु आयोजना गरोस् भन्ने म आग्रह गर्न चाहन्छु।
अहिले पनि कतिपयलाई लागेको हुनसक्छ, मदन भण्डारी वास्तवमा उहाँले मात्रै ल्याएको होइन। हो, उहाँले मात्रै ल्याएको विचार होइन यो। तर उहाँ आफैंले स्वीकार गर्नुभएको छ, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अग्रजहरुका योगदानहरु यो विचारलाई उन्नत किसिमले सुत्रिकृत गर्ने कुरामा त्यसका योगदानहरु छन्।
भनेर उहाँ आफैंले स्वीकार गर्नुभएको छ। त्यसकारणले हामीले यो विचारको पक्षमा उभिरहँदा, जननेता मदन भण्डारीको पक्षमा उभिरहँदा यो पृष्ठभूमिलाई बुझ्नुपर्ने जरुरत छ र यसले कुनै पनि बेला सामना गर्नुपर्ने चुनौतीहरु जुन छन्, त्यो चुनौतीलाई पनि हेक्का राख्नुपर्ने जरुरी छ। यदि सम्भावित चुनौतीहरुको बारेमा हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ। यस्तो दुर्भाग्य निम्तिनु हुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु।
अहिलेको अवस्थामा नेकपा एमालेले भनेको छ, माक्र्सवादलाई सिर्जनात्मक ढंगले आफ्नो नेपालमा प्रयोग गर्दा विकसित भएको विचार हो यो। यो चिजलाई नेकपा एमालेका कसैले पनि बिर्सनु हुँदैन, भुल्नु हुँदैन । यो हिसाबले यो वैज्ञानिक, यो उन्नत विचार हो। यसको प्रतिरक्षा गर्नु हामी सबैको कर्तव्य हो। यो चिजलाई कसैले पनि भुल्नु हुँदैन भन्ने कुरा म राख्न चाहन्छु।
म यहाँहरू समक्ष अर्को कुरा के भन्न चाहन्छु भने, जनताको बहुदलीय जनवाद यो एमालेसित मात्रै होइन, यो देश बनाउने विचार हो, समाज बदल्ने विचार हो, राष्ट्रियताको आन्दोलनलाई नेतृत्व गर्ने विचार हो, प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने विचार हो। यो कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने, पुस्तान्तरण र यो हस्तान्तरण गर्ने, नेतृत्व हस्तान्तरण गर्ने विधिको कुरा बोल्ने विचार हो यो। त्यसकारणले यो विचारलाई हामीले त्यस हिसाबले पनि बुझ्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु।
जहाँसम्म चुनौतीका कुरा छन्, चुनौती त सधैँ आउँछन्। चुनौतीका जहाँसम्म कुरा छन्, ती सिर्जना भइरहन्छन्, उत्पन्न भइरहन्छन्। तर, चुनौतीको सामना गर्ने सामथ्र्य आर्जन गरेर अगाडि बढ्नुको अर्को कुनै विकल्प छैन।
त्यसकारणले म यहाँहरू समक्ष, यो फाउन्डेसनका साथीहरू, अध्यक्षज्यू लगायत फाउन्डेसनका तमाम साथीहरूलाई भन्न चाहन्छु, यो आयोजक कमिटीका साथीहरूलाई भन्न चाहन्छु, एमालेको तर्फबाट भन्न चाहन्छु, चुनौतीहरू आए, अप्ठ्याराहरू आए, अपजसहरू आए, अपगालहरू आए भनेर अलिकति पनि मनोबल कमजोर बनाउनु हुँदैन, अलिकति पनि मनोबल कमजोर हुन दिनु हुँदैन। यो अहिलेको आवश्यकता हो। यस हिसाबले हामीहरू अगाडि बढ्नुपर्छ र यो महत्त्वपूर्ण काममा यो कार्यालयले संयोजनकारी भूमिका खेलोस्।
म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। कार्यक्रम आयोजनाको लागि र निमन्त्रणाको लागि आयोजक साथीहरूलाई धन्यवाद भन्दै आफ्नो शुभकामनाको मन्तव्य यहीँ अन्त्य गर्छु। धन्यवाद।

भर्खरै
लोकप्रिय






































































































































































































