-  दसैँ, तिहार र छठलाई लक्ष्य गरी सिमकोट शाखाबाट सहुलियत पसलबाट ५६ लाखको खाद्यान्न बिक्री गरिएको छ।
 -  खार्पुनाथ, चङ्खेली र ताजाकोटका उपभोक्ताले सहुलियत दरमा खाद्यान्न पाउनबाट वञ्चित भएको गुनासो गरेका छन्।
 - सर्केगार्ड डिपोबाट सहुलियत पसल सञ्चालन गरिने र चामल, चिनी तथा तेलमा विशेष छुटको व्यवस्था छ।
 
हुम्ला – हुम्लामा सहुलियत पसलबाट ५६ लाखभन्दा बढी मूल्यको खाद्यान्न बिक्री बितरण भएको छ। दसैँ, तिहार र छट पर्वलाई लक्ष्य गरेर खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाबाट उक्त खाद्यान्न बिक्री वितरण गरिएको हो।
लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापामगरले हालसम्म सहुलियत पसलबाट ५६ लाख ९४ हजार ३२८ रुपैयाँ मूल्यको खाद्यान्न बिक्री भएको छ। भदौ ३० गतेबाट सहुलियत पसलबाट चामल, तेल र चिनी बिक्री सुरु गरिएको थियो।
हालसम्म ७४३ दशमलव ७५ क्विन्टल चामल बिक्री भएको छ भने ७८२ केजी चिनी र २४६ लिटर तेल बिक्री गरिएको छ। खाद्यान्न बिक्रीमा शाखासँग सात प्रकारको चामल रहेकामा उपभोक्ताको चाहनाअनुसार सबै खाले चामल बिक्री भइरहेको छ।
शाखाको गोदामा सात हजार १०१ दशमलव ६७ क्वीन्टल खाद्यान्न मौज्दात रहेकोमा त्यसैबाट हाल बिक्री बितरण भइरहेको हो। उपभोक्ताको आवश्यकताअनुसार चारदेखि पाँच बोरा चामल बिक्री गर्ने गरिएको छ। बिगतमा जस्तो तोकिएको खाद्यान्न बिक्री गर्नुपरेको छैन।
त्यसैगरी, अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगरबाट सहुलियत पसलका लागि पाँच सय क्वीन्टल चामल कोटा रहेको सो बिक्री भइरहेको छ। पचास क्वीन्टल चिनी र एक हजार लिटर तेल पनि श्रीनगर डिपोबाट सहुलियत पसलबाट बिक्री भइरहेको छ।
यता बिक्री केन्द्र याल्वाङबाट पनि सहुलियत पसलबाट खाद्यान्न बिक्री कार्य भई रहेको छ। याल्वाङ बिक्री केन्द्रका लागि एक सय क्वीन्टल खाद्यान्न मात्र बिक्री भई रहेको शाखाले जनाएको छ। अब खाद्यान्न बिक्रीका लागि जनशक्तिको ब्यवस्था गरेर सर्केगार्ड गाउँपालिकाको डिपो कार्यालय सर्केगार्डबाट पनि सहुलियत पसल सञ्चालन चाँडै गरिने शाखाले जनाएको छ। लिमिटेडले चाडपर्व लक्ष्य गरी चामल र चिनीमा प्रतिकेजी पाँच रुपैयाँ तथा तेलमा प्रतिलिटर सात रुपैयाँ छुटको ब्यवस्था गरेको थियो।
तीन वटा गाउँपालिकाका उपभोक्ता सहुलियतमा खाद्यान्न पाउनबाट वञ्चित
यसैबीच, लिमिटेडले देशभर सहुलियत पसलबाट खाद्यान्न बिक्री गरिरहे पनि हुम्ला जिल्लाका तीन वटा गाउँपालिकाका उपभोक्ताले सो खाद्यान्न पाउनबाट वञ्चित हुनुपरेको छ। यसरी सहुलियत दरमा खाद्यान्न पाउनबाट वञ्चित हुने गाउँपालिकामा खार्पुनाथ, चङ्खेली र ताजाकोट गाउँपालिकाका उपभोक्ता रहेका छन्। केन्द्रबाट ती गाउँपालिकाका बिक्री केन्द्रबाट सहुलियत पसल सञ्चालनका लागि खाद्यान्न कोटा नतोकिएका कारण यसपालि दसैँ, तिहार र छठमा सो खाद्यान्न पाउनबाट वञ्चित हुनुपरेको हो।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































