- आँचल नाथको जलेर मृत्यु भएपछि प्रहरीले आत्मदाह वा हत्या बारे अनुसन्धान जारी राखेको छ।
- आँचलको बुबाले छोरीको हत्या भएको दाबी गरेका छन् र प्रहरीसँग सोधपुछका लागि तीन जना नियन्त्रणमा छन्।
- आँचल विदेश जाने तयारीमा थिइन्, र उनको मृत्युले परिवारलाई स्तब्ध बनाएको छ।
काठमाडौँ– बिहीबार जलेको अवस्थामा भेटिएकी २२ वर्षीया टिकटकर आँचल नाथको मृत्यु भएको छ। उनको शनिबार दिउँसो १ बजेतिर उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको हो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भएकी उनी काठमाडौँको पेप्सीकोलामा बस्दै आएकी थिइन्। बिहीबार साँझ ४ बजेतिर उनको पेप्सीकोला नजिकै जडिबुटीबाट जलेको अवस्थामा उद्धार गरिएको थियो।
स्थानीयले उनको उद्धार गरी काठमाडौँ मेडिकल कलेजमा पुर्या।एका थिए। उपचारका क्रममा उनको दुई दिनपछि शनिबार मृत्यु भएको छ। उनको शरीर पूर्णरुपमा जलेको अस्पताल स्रोतले जानकारी दिएको छ।
‘उनको शरीर पूर्णरुपमा जलेको थियो। यहाँ लिनसाथ भेन्टिलेटरमा राखेर उपचार गरिएको हो। तर आज दिउँसो एक्पाएर्ड (मृत्यु) भयो’, अस्पताल स्रोतले भन्यो।
आँचलको शवलाई पोष्टमार्टमका लागि हाल त्रिवि शिक्षण अस्पताल राखिएको छ।
आत्मदाह कि हत्या?
आँचल पेप्सीकोलामा डेरामा बस्दै आएकी थिइन्। उनी जडिबुटीमा शरीरमा पेट्रोल छर्किएर आगो लगाएको अवस्थामा भेटिएकी थिइन्।
उनको शरीरमा कसरी आगो लाग्यो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। तर प्रहरी दुई दिनसम्म उनले आफै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी हुन् कि कसैले उनलाई जलाएको हो भन्नेमा अनुसन्धानमै छ।
तर आँचलका ५५ वर्षीय बुबा दशरथ नाथले छोरीको आगो लगाएर हत्या गरिएको बताउँछन्। ‘उसले (आँचल) आत्मदाह गर्ने भए त कोठैमा गर्थि नि। किन पेप्सीकोलाबाट जडिबुटी पुग्थि र!’, फोनमा कुरा गर्दै दशरथले देशसञ्चारसँग भने।
छोरी जलेको दिन बिहीबार छिमेकी अर्को घरको कोठमा बस्ने एक महिलासँग झगडा भएको उनले सुनेका छन्। उनै महिलाको ग्यारेज (बाइक-गाडी बनाउने ठाउँ) भएको जेडिबुटीमै छोरीमाथि आगलागी भएको दशरथले बताए।
उनै महिलासँग करिब महिना दिनअघि पनि झगडा भएको र प्रहरीमा मेलमिलाप भएको कुरा अहिले दशरथले थाहा पाएका छन्। ‘म गाउँमै थिएँ। त्यस्तै एक महिना पहिले पनि ती महिलासँग झगडा भएर प्रहरीमा मिलापत्र भएको थियो रे।
अहिले उनकै ग्यारेज भएको ठाउँमै छोरीलाई जलाइयो’, आँचलका बुबाले भने।
ती महिलाले आफ्नो श्रीमान्सँग लागेको भन्दै झगडा गरेको उनले बताए। अहिले पनि आँचललाई उनै महिलाले विभिन्न आरोप लगाएपछि बुझ्न उनकै पसलतिर छोरी गएको र त्यसैसमयमा शरीरमा आगो लगाइएको बुबा दशरथको आरोप छ।
उनी महिला पनि पेस्पीकोला आँचलको कोठा नजिकै डेरा गरी बस्ने र पहिलेदेखि नै उनीहरू सँगसँगै टिकटकसमेत बनाउने गरेको थाहा पाएको दशरथले बताए।
तर दशरथलाई अहिलेसम्म आँचलले आफै आगो लगाएर आत्मदाह गरेको बताइएको छ। त्यस कुरामा उनी विश्वास गर्न सकिरहेका छैनन्। ‘छोरीले आफै आत्मदाह गरेको भनेर विश्वास गर्ने कुनै ठाउँ नै छैन। शंकैशंका छ’ उनले भने।
प्रहरी स्रोतकाअनुसार सोधपुछका लागि उनै महिलासहित तीन जना प्रहरी नियन्त्रणमा छन्।
युरोप जाने भिसा आएको थियो आँचलको
आँचल घरकी छ दिदीबहिनीमध्य कान्छी छोरी हुन्। उनी विदेश जाने तयारीका लागि करिब दुई वर्षदेखि पेप्सीकोलामा बस्दै आएकी थिइन्। उनीसँग उनका भाइ पनि बस्दै आएका थिए।
घटना हुनु १०-१५ दिनअघि भाई घर फर्किएका थिए। उनलाई यसअघि दिदीको र छिमेकी ती महिलाबीच विवाद भएको थाहा थियो। तर उनले पनि त्यो कुरा घरमा नभनेको बुबा दशरथले बताए। ‘बाबुलाई त सबै थाहा रहेछ। तर घरमा थाहा थिएन’, उनले भने।
दशरथका पाँच छोरीको विवाह भइसकेको छ। आँचल र दुई छोराको भने विवाह हुन बाँकी थियो। आँचलको भने युरोप जानका लागि भिसा आइसकेको थियो। ‘कुन देश हो मलाई पनि थाहा छैन। युरोप जाने भिसा आइसकेको थियो उसको’, बुबा दशरथले भने।
दशरथ घरमा कृषि गरेर जीविकोपार्जन गर्दै आइरहेका छन्।
छोरीको जलेर मृत्यु भएपछि उनी अहिले बेहोस जस्तै छन्। फोनमै उनले भने– ‘मेरो त सबै होस उडेको जस्तै भएको छ।’ छोरीको जलेको खबरपछि उनी शुक्रबार मात्र काठमाडौँ आएका थिए।
छोरीको न्याका लागि अब प्रहरी प्रकृयामा सुरु गर्ने बताए।

भर्खरै
लोकप्रिय






































































































































































































