
काठमाडौँ– आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उर्जामन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गर्नुकासाथै जेन-जी आन्दोलनमा घाइते भएकालाई परिचय पत्र दिने निर्णय गरेको छ।
कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौँ बैठकमा सहभागी हुनका लागि घिसिङको चारदिने भ्रमण स्वीकृत भएको हो।
यस्तै सरकारले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले घाइते भएका व्यक्तिहरुको पुनः उपचारका लागि अस्पतालहरु तोक्ने, ती अस्पतालहरुमा जेन-जी क्लिनिक सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।
पुनः उपचारका लागि जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ।
–फाइल तस्बिर