- दशैंको नजिक हिमाली भेगका किसानले पालेका च्यांग्रा र भेंडा पोखरा झारेका छन्, जसको बिक्री चरम उत्कर्षमा छ।
- यो वर्ष पोखरामा २५ देखि ३५ हजार रुपैयाँसम्मको च्यांग्रा, भेडा किनबेच भइरहेको छ।
- हिमाली जिल्ला मुस्ताङ, डोल्पा, बझाङलगायत स्थानबाट २२ हजार भेडाच्यांग्रा पोखरा भित्रिएको भेटनरी अस्पतालले जनाएको छ।
पोखरा – हिमाली भेगका किसानले पालेका च्यांग्रा र भेंडा पोखरा सहर झरेका छन्। दशैंको मुखमा पोखरेलीको स्वाद फेरिदिन विक्रीका लागि च्यांग्रा र भेडा पोखरा झारेका हुन्।
यतिबेला पोखराको सिमपानीदेखि याम्दिको पुलसम्म च्यांग्रा र भेडाको बथानै बथानले भरिएको छ। निर्माणाधीन सडकको किनारमा खरिद गर्न पुग्ने उपभोक्ताको भीडले मेला नै लागेको भन्दा फरक पर्दैन।
दशैंका लागि खरिद गर्न आएका उपभोक्ता बथानको रोज्जा च्यांग्रालाई च्याप्पै समातेर उचाल्छन्। केहीबेर तौल अन्दाज गर्छन्। त्यसपछि मोलमोलाइ गरेर पैसा बुझाउँछन्। भेडाच्यांग्राको घाँटीमा बाँधिएको डोरी समातेर मोटरसाइकल, स्कटुर, जीप, भ्यानमा सवार गराइ घरतर्फ लैजान्छन्।
यो वर्ष पोखरामा २५ देखि ३५ हजार रुपैयाँसम्मको च्यांग्रा, भेडा किनबेच भइरहेको छ। गत वर्षको दशैंमा २५ देखि ४२ हजार रुपैयाँमा किनबेच भएको थियो।
पोखरामा हिमाली च्यांग्रा र भेडा आएसँगै दशैंको रौनक भित्रन्छ। हरेक वर्ष सिमापानीदेखि याम्दि क्षेत्रमा हिमाली जिल्लाबाट किसान र व्यापारीले ल्याएका च्यांग्राको किनबेच हुन्छ।
यसपाली २२ हजारको हाराहारीमा भेडाच्यांग्रा पोखरा भित्रिएको भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए। उनका अनुसार मुस्ताङ हुँदै झन्डै १६ हजार भेडाच्यांग्रा ल्याइएको हो।
पश्चिमबाट ट्रकमा हालेर झन्डै ६ हजार भेडाच्यांग्रा पोखरा ल्याइएको छ। केही संख्यामा बाग्लुङ हुदै आएको पाण्डेले जानकारी दिए। घटस्थापनाको पहिलेदेखि नै पोखरामा भेडाच्यांग्रा आएका हुन्। हिमाली जिल्ला मुस्ताङ, डोल्पा, बझाङ, बाजुरा, हुम्ला, जुम्लाबाट किसान र व्यापारी भेडाच्यांग्रा लिएर पोखरा झर्छन्।
हिमाली पाटन र बुकीमा चरेका भेडाच्यांग्राको स्वाद तिख्खरसँगै स्वास्थ्यका दृष्टिकोणले पोषिलो हुने भएकै पोखरेलीले बर्षको एकपटक स्वाद फेर्छन। त्यसैले दशैंको समयमा खसीबोको तुलनामा जडीबुटी खाएर हुर्केका भेडाच्यांग्रा बढी विक्री हुन्छ। स्वस्थकर भनिए पनि पोखरामा आएका भेडाच्यांग्राको स्वास्थ्य जाँच विरलै हुन्छ। तैपनि उपभोक्ता कोही एक्लै त कोही समूहमा मिलेर खरिद गर्ने प्रचलन छ।
यो वर्षको दशैंमा पोखराको बजारमा १० हजार खसीबोक विक्री हुने भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र कास्कीको अनुमान छ। खसीबोका कास्कीका ग्रामिण क्षेत्रसँगै तनहुँ, स्याङजा, पाल्पा, नवलपूरसँगै तराईका जिल्लाबाट ल्याइन्छ।