
- एमालेले केपी शर्मा ओलीको राहदानी रोक्ने सिफारिस राजनीतिक प्रतिशोधपूर्ण भन्दै गम्भीर आपत्ति जनाउँदै आयोगको विश्वसनीयतामा प्रश्न उठाएको छ।
- गृह मन्त्रालयले जाँचबुझ आयोगको अधिकार क्षेत्र भनेर घटनामा दोषीहरुलाई कारबाही नगर्न गरेको निर्देशनलाई एमालेले आपत्तिजनक ठहर् गर्दै विरोध गरेको छ।
- पछिल्लो घटनाक्रमबारे निर्णय गर्न एमालेको केन्द्रीय कमिटीको बैठक असोज २७–२९ मा काठमाडौंँमा सञ्चालन हुने छ।
काठमाडौँ- जेनजी आन्दोलनका घटनाबारे छानबिन आयाेगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे पासपोर्ट राेक्का गर्न सरकारलाई सिफारिस गरेकाेमा एमालेले आपत्ति जनाएकाे छ।
आइतबार भक्तपुरकाे गुण्डुमा बसेकाे सचिवालय बैठकले सरकारले प्रतिशाेधपूर्ण व्यवहार गर्न थालेकाे भन्दै आपत्ति जनाएकाे हाे।
यस्तै बैठकले गृहमन्त्रालयले जेनजी आन्दाेलनकाे घटनाका विषयमा नियमित छानबिन राेक्न गरेकाे निर्देशनप्रति पनि एमालेले आपत्ति जनाएकाे छ।
एमालेले पछिल्लाे घटनाक्रमबारे यही असाेज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक बाेलाउने पनि निर्णय गरेकाे पार्टी उपमहासचिव प्रदीप ज्ञावलीले जानकारी दिए।
एमालेले जारी गरेको तीनबुँदे वक्तव्य यस्तो छ:
प्रेस वक्तव्य
१) भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस अघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ ।
२. हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमाथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ । पार्टी यसप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गम्भीर ध्यानाकर्षण गर्दछ ।
३. पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्ने छ । त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।