
- अविरल वर्षा र बाढीपहिरोका कारण सङ्खुवासभा, रसुवा र सिन्धुपाल्चोकमा छ ठाउँमा राजमार्ग बन्द छन् ।
- रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ मा अवरुद्ध सडकले नेपाल-चीन जोड्ने नाका सञ्चालनमा आउन सकेको छैन ।
- सिन्धुपाल्चोकको सुनकोशी र भोटेकोशी गाउँपालिकामा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काठमाडौँ- अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए ।
उनका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सोही जिल्लाको मकालु गाउँपालिका-३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको उनले बताए। यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।
रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल-चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन ।
आज रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका-७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए।
उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।