
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैंको शुभकामना सन्देश दिँदै मुलुकमा उपन्न जटिलताको समाधान अहिलेकै संविधानबाट खोज्नुपर्ने बताएका छन्।
सोमबार ०८२ सालको दशैंको शुभकामना एक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानले दिनुपर्ने उनको भनाइ छ।
‘सातदशक नेपाली जनाकाे लामाे त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षाबमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरुको समाधान, मुलुकको स्थिरता र प्रगति सुनिश्चित छ’, उनले भनेका छन्।
उनले भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा भएको लुटपाट, आगजनी नेपाली इतिहासमा अत्यन्त अकल्पनीय र दु:खद घटनाका रुपमा रहेको पनि बताएका छन्।
शुभकामना सन्देशमा देउवाले विषम परिस्थितिमा दुर्गा भवानीले सबैको आत्मबल र दृढ शक्ति प्रदान गर्ने कामना गरेका छन्।